काठमाडौंको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ।
गएको बुधबार सुरु भएको ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर २०२५’ आउने आइतबारसम्म चल्नेछ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया रिसर्च सेन्टरको संयुक्त आयोजनामा भएको मेलाको सहआयोजक चीनको ‘चाइना इन्टरनेसलन बुक ट्रेडिङ’ हो।
मेलामा नेपालसहित चीन, भारत लगायतका १३ देशका प्रकाशक, लेखक, वितरक तथा विभिन्न शैक्षिक सामग्री उत्पादकको सहभागिता रहेको छ।
विदेशी किताब नेपालीमा छाप्ने र नेपाली भाषाका किताब विदेशी भाषामा छाप्ने प्रक्रिया मिलाउन यसपटक मेलामा कपी राइट किनबेचको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ।
मानवशास्त्री डाक्टर सुरेश ढकाल यस्ता मेलाले लेखक र पाठक दुवैलाई ज्ञानको दायरा बढाउन सहयोग पुग्ने बताउँछन्।
समीक्षक गुरुङ सुशान्त नेपालको मात्रै नभएर अन्य देश र भाषाका पुस्तकको उपलब्धता एकैठाउँमा हुनु लेखक, पाठक र पुस्तकप्रेमीहरूका लागि खुशीको कुरा भएको बताउँछन्।
मेलामा विभिन्न विद्यालयले आफ्ना विद्यार्थीहरूलाई अवलोकनका लागि ल्याएका थिए भने लेखक र पाठकको जमघट पनि बाक्लै देखिन्थ्यो।
आफ्नो रोजाइका पुस्तक किन्न तथा मेलाको अवलोकनका लागि विभिन्न ठाउँबाट पाठक भृकुटीमण्डप आएका भेटिए।
मेलामा पुस्तक लेखन, प्रकाशन, पठन सँस्कृतिसँग जोडिएर विभिन्न विषयमा छलफल समेत भएको छ। यस पुस्तक मेलामा स्वदेशी तथा विदेशी व्यवसायीका डेढसय भन्दा बढी स्टल रहेका छन्।
चीनको छुट्टै स्पेश छ भने अमेरिकी दूतावासको बुक बस पनि राखिएको छ।






















भिडिओ :
Shares

प्रतिक्रिया