समाज


लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई पक्राउ गर्न अदालतको अनुमति

लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई पक्राउ गर्न अदालतको अनुमति

नेपालखबर
पुस २२, २०८१ सोमबार २०:४४, विराटनगर

ठगीको आरोप लागेका अनिलकुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका  बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको उजुरीको आधारमा उनलाई पक्राउ पुर्जी जारी भएको हो।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवसमेत रहेका अनिलले ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा सोमबार मोरङ जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।  

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अनुसन्धानको लागि पक्राउ गर्न सोमबार दिउँसो प्रहरीलाई अनुमति दिइएको हो।

दुई वर्षको अवधिमा विभिन्न मितिमा अनिलले चौधरीसँग ३८ लाख ८० हजार लिएको बारेमा प्रहरीमा उजुरी दिन गएको भए पनि मुद्दा दर्ता नभएपछि बौवालालले २०७९ साउन १८ गते हुलाकबाट जाहेरी दिएका थिए।

हुलाकबाट पठाएको जाहेरीमा छानबिन नभएपछि प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका थिए।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले २०८१ भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो।  आदेशको आधारमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।  

अब अनिललाई पक्राउ गरी ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad