समाज


सडक सुरक्षाका लागि भोजपुरमा ‘सडक हेरालु’

सडक सुरक्षाका लागि भोजपुरमा ‘सडक हेरालु’

नेपालखबर
पुस २५, २०८१ बिहिबार ६:२, काठमाडौँ

भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन्। यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन्।  

कोसी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ। पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। 

हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए।  हेरालुले सानो असावधनीका कारण सडक बिग्रिएर हुने ठूलो क्षतिबाट रोक्न नियमित रूपमा सडकको हेरचाह र मर्मसम्भार गर्ने उनले बताए। 

‘हेर्दा सामान्य काम जस्तो देखिन्छ तर सडक सुरक्षाका लागि हेरालुको निकै ठूलो भूमिका हुन्छ। उनीहरूले नियमित रूपमा सडकको हेरचाहसँगै मर्मतसम्भार गर्ने भएका ठूलो क्षति हुनबाट बचाउने अवस्था बन्छ । सडकको बचावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्यले  प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो’, कार्यालय प्रमुख राजनराज रेड्डीले भने।

एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको र आगामी दिनमा प्रादेशिक सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने तयारी भइरहेको उनले बताए।   

लेखा अधिकृत चेतबहादुर मोक्तानले छनोटमा परेकाहरूलाई व्यक्तिगत सुरक्षा, सडकको हेरचाहलगायत विषयमा आवश्यक अभिमुखीकरण गरी काममा खटाइएको बताए। 

हेरालुहरूले सडकको सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, ठूला समस्याको तुरुन्त जानकारी दिई थप क्षति हुनबाट जोगाउनेलगायत जिम्मेवारी निर्वाह गर्ने कार्यालयका प्रशासन शाखा प्रमुख अभिशेक बस्नेतले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad