काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार ५.५ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।
न्यूनतम तापक्रम घटेसँगै बिहान काठमाडौँ उपत्यकामा कठ्यांग्रिँदो चिसो महसुस भएको छ।
दिउँसो भने काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए।
‘आज उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ’, उनले भने।
मुख्यतया सफा भनेको कतै कतै बादलबाहेक आकाश सफा रहनु हो।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ।
फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुन्छ।
आज मौसम कुन प्रदेशमा कस्तो?

Shares

प्रतिक्रिया