पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा बिहीबार थुनछेक आदेश जे आए पनि तीन जना प्रतिवादीलाई भने हिरासतमै राखिनेमा कास्की प्रहरी ढुक्क थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी एवं रविकै व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीविरुद्ध अरू चार वटा जिल्लामा पनि यस्तै अभियोगमा अनुसन्धान चलिरहेको थियो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा अभियोग नै दर्ता भइसकेको छ। उनीहरू दुवै जना गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्।
५ वटा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको अभियोग उनीहरूमाथि छ। यस्तै नेपाल प्रहरीका पूर्वसहायक निरीक्षक (असइ) रामबहादुर खनाल पनि नछुट्ने सूचीमा थिए। उनीविरुद्ध पनि चितवन र पर्सामा अनुसन्धान चलिरहेको छ।
खनालले छविलाल जोशीकै सल्लाहमा २०७५ असार २८ गते असइबाट राजीनामा दिएका थिए। उनलाई जागिर छाडेपछि पनि जोशीले नै क्यासिनोमा मासिक ६० हजारको जागिर मिलाइदिएका थिए।
जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले उनीहरूलाई नछाड्नकै लागि अभियोगपत्रमै सूर्यदर्शन सहकारीको मुद्दामा छुटी जाने भएमा प्रहरीकै जिम्मा लगाइदिन माग गरेको थियो।
त्यसअघि नै उनीहरूलाई लगेर बयान गराइसकेका सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले कास्की प्रहरीलाई ती प्रतिवादीहरू आफ्नो कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरिसकेको थियो। सोही आधारमा सरकारी वकिल कार्यालयले उनीहरूलाई हिरासतमै राख्ने गरी मागदाबी पेस गरेको थियो।
अभियोगपत्रमा भनिएको थियो, ‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरूउपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धानपश्चात् सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसुरमा छुटी जाने भएमा सम्मानित अदालतहरूमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरूलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ।’
कास्की अदालतमा प्रहरीको माग- रवि लामिछाने छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा दिनू
तर, सूर्यदर्शन सहकारीको रकम ठगीसहित तीनवटा कसुरमा थुनछेक आदेश गर्दा जिल्ला न्यायाधीश नितिज राईको इजलासले अभियोगपत्रमै माग गरिएको यस विषयमा केही पनि बोलेन। अदालतले भन्यो, ‘तत्काल प्राप्त प्रमाणहरूबाट कसुरदार प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ६५ लाख रुपैयाँ नगदै वा सोबराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय, कास्कीमा पठाइदिनू।’
सामान्यतः यस्ता अभियुक्तलाई धरौटी वा सामान्य तारेखमा छाड्ने आदेश हुँदा ‘अन्य कारणले थुना राख्नु नपर्ने भए’ भन्ने वाक्यांश राखिएको हुन्थ्यो। तर, कास्की जिल्ला अदालतको आदेशमा यस विषयमा कुनै कुरा उल्लेख नभएपछि प्रहरी अलमलमा परेको थियो।
‘हामीले माग गरेका थियौँ। तर आदेशमा त्यो कुरा आएन। त्यो भएकाले उहाँहरूलाई धरौटी बुझाइसकेपछि पनि पुनः पक्राउ गरेर थुनामै राख्न समस्या भयो,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘अब उहाँहरू काठमाडौँमा उपस्थित हुनुहुन्छ। त्यहाँको आदेशपछि अन्य जिल्लामा के कसरी जाने भन्ने टुंगो लाग्छ।’
कानुनी परामर्शपछि प्रहरीले रवि र छविलाई काठमाडौँ प्रहरी परिसरमा उपस्थित हुने कागज गराएर रिहा गरिदिएको छ। किनभने, काठमाडौँ प्रहरीले रवि र छविलाई पठाइदिन यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। यद्यपि, उनीहरू अब जिल्ला प्रहरी परिसर काठमाडौँमा अथवा सिधै जिल्ला अदालत काठमाडौँमा उपस्थित हुन सक्छन्।
अर्का प्रतिवादी रामबहादुर खनाल जिल्ला प्रहरी कार्यालय, चितवनमा उपस्थित हुनेछन्। उनीविरुद्ध पर्साको सानो पाइला सहकारीमा पनि अनुसन्धान चलिरहेको छ। अभियोग पत्र अदालतमा दायर भइसकेको छैन।
रवि र छवि भने पहिले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको अभियोग सामना गर्न अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध ५ करोड बढी बिगो कायम गर्दै अभियोगपत्र दर्ता भइसकेको छ। यसअघि नै दुई प्रतिवादीको थुनछेक आदेश हुँदा दुवैजना धरौटीमा छुटिसकेका छन्।
अभियोगपत्रसाथ पेस गरिएका सहकारीका सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो। सुनिता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो। यस मुद्दामा रवि र छविसहित ३९ जना प्रतिवादी कायम गरिएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा २ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। लामिछानेलाई ५ करोड ८ लाख रुपैयाँ र छविलाई ५ करोड ७८ लाख बिगो तोकिएको छ।
तर सम्पत्ति शुद्धीकरणको कसुरमा कास्कीमै मुद्दा दायर भइसकेकाले अन्य जिल्लामा यो कसुर लगाइएको छैन। सहकारी ठगीमा भने दुवै जनाविरुद्ध कास्कीमा भन्दा काठमाडौँमा बिगो बढी छ।
काठमाडौँपछि बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि अभियोगपत्र दर्ता गर्ने प्रहरीको तयारी छ। केही दिनभित्रैमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने इलाका प्रहरी कार्यालय, बुटवलको तयारी छ।
सूर्यदर्शनबाहेक अरू जिल्लामा सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै अभियोग दर्ता गर्ने तयारी छ। सबै जिल्लामा रवि र छविविरुद्ध सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको अभियोग छ।
कास्की अदालतले के भन्यो आदेशमा?
जिल्ला अदालत कास्कीले हिरासतमै राख्नुपर्ने कास्की प्रहरीको मागमा केही नबोले पनि पक्राउ परेका सातमध्ये सबैभन्दा बढी धरौटी रवि र छविलाई तोकेको छ। छविसँग ८८ लाख र रविसँग ६५ लाख धरौटी माग गरेको थियो। अदालतले माग गरेको धरौटी उनीहरूले केहबेरमै बुझाएर उनीहरू रिहा भए।
उनीहरूलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनीहरूको संलग्नताको गम्भीरताका विषयमा पनि उल्लेख गरेको छ।
अदालतले रवि लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीका ८१४ वटा चेकहरू कारोबार भएको देखिएको, गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात पनि केही चेकहरूमा हस्ताक्षर गरेको अदालतको आदेशमा उल्लेख छ। यस्तै सहकारीको रकम लामिछानेको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको अदालतको ठहर छ।
अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बंैक खाताको ट्रान्जेक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट उनी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको आदेशमा उल्लेख छ।
छविको संलग्नताबारे पनि आदेशमा उल्लेख छ। उनी सञ्चालक रहेको नेचरहर्ब्स र संस्थापकमध्ये रहेको गोर्खा मिडिया नेटवर्कमा भएको संलग्नता तथा कारोबार उल्लेख गरिएको छ।
सूर्यदर्शन सहकारीबाट २ करोड जीबी राईको खातामा जम्मा भएको र सोही खाताबाट १ करोड ७५ लाख छविलाल जोशीको खातामा जम्मा भएको देखिएको आदेशमा उल्लेख छ। सूर्यदर्शन सहकारीबाट उनको खातामा समेत रकम आएको देखिएको र अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सन समेतलाई आधार मान्दै उनलाई सबैभन्दा बढी ८८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।
उनी पनि अदालतको आदेश बमोजिमको धरौटी बुझाएर रिहा भइसकेका छन्। अब रवि र छवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन्।
अदालतमा उनीहरू उपस्थित भएपछि लगत्तै बयान सुरु हुनेछ। त्यसपछि थुनछेक बहस र आदेश हुनेछ। काठमाडौँ अदालतबाट पनि धरौटीमा रिहा भएमा उनीहरू बुटवलको सुप्रिम सहकारीको अभियोग सामना गर्न रुपन्देही जानुपर्नेछ।
यसरी अब उनीहरू थुनामा नबसी आफैँ उपस्थित हुने बाटो खुला भएको हो। तर समयमै उपस्थित नभएमा अदालतबाट म्याद जारी हुने र अटेर गरे पुनः पक्राउ गर्ने कानुनी व्यवस्था छ।
Shares

प्रतिक्रिया