रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज नहुने भएको छ।
इजलासमा लामो सवालजवाफपछि न्यायाधीशले आज बहस सुरु नहुने भएकाले आदेश गर्ने भनेका छन्।
सरकारी वकिलहरूले रविको बयान पढ्न समय माग गरेपछि आज बहस नहुने भएको हो।
आज थुनछेक बहस नसकिने हो भने कानुन व्यवसायी वा परिवारको जिम्मा लगाउन रवि पक्षधरको माग थियो। तर न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासबाट सबै अभियुक्तलाई समान व्यवहार हुनुपर्ने बताएका थिए।
आज बहस नहुने भएपछि न्यायाधीश आदेश लेख्दै छन्।
उनलाई न्यायिक हिरासतमा पठाइएमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा राख्ने तयारी छ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।
यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका हुन्।
Shares

प्रतिक्रिया