समाज


न्यायिक हिरासतमा पठाइयो रवि लामिछानेलाई

न्यायिक हिरासतमा पठाइयो रवि लामिछानेलाई

नेपालखबर
पुस २८, २०८१ आइतबार १६:९, काठमाडौँ

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी छ। 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।

उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए। उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो।

उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए। रविले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेका थिए। तर, सरकारी वकिलले उनको बयान पढ्न समय माग गरेका थिए। 

तर न्यायाधीश अधिकारीले इजलासबाट समान व्यवहार गर्नुपर्ने भएकाले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने बताएका थिए।

रविविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए।

यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad