समाज


‘धरानका मेयर राई- आफ्नो प्रचारमा युट्युबर प्रयोग गर्छन्, व्यावसायिक सञ्चारकर्मीलाई धम्क्याउँछन्’

‘धरानका मेयर राई- आफ्नो प्रचारमा युट्युबर प्रयोग गर्छन्, व्यावसायिक सञ्चारकर्मीलाई धम्क्याउँछन्’

नेपालखबर
पुस २८, २०८१ आइतबार १६:१८, काठमाडौँ

नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङ राइका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकालेको छ।

महासंघले पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले यस्तो ठहर गरेको हो।

आइतबार प्रतिवेदन बुझाउँदै मिडिया मिसनले नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडिओ बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको तथा व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने गरेको बताएको छ।

महासंघले मिडिया मिसनको प्रतिवेदन बुझेपछि महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन्।

यस्तो छ, प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आफ्नो प्रतिवेदन पेस गरेको छ।

केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्‌ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा संलग्न मिसनले सबै पक्षसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका मुख्यमुख्य बुँदा यसप्रकार रहेका छन्।

प्राप्त तथ्यहरू
धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका छन्।

प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइजती गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्यहरू भइरहेको देखिन्छ।

नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडिओ बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ। जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ।

नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडिओ सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइयो।

कतिपय पीडित पत्रकारका छोराछोरीहरू पत्रकार बुबाआमालाईर धन्क्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशंकित हुने गरेको पाइएकोले त्रासको वातावरण व्यक्तिमा मात्र सीमिति नरही परिवारको तहसम्म विद्यमान रहेको पाइयो।  

निष्कर्षहरु
राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिन्छ।

राईका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको देखिन्छ।

राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको देखिन्छ।

राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेका छन्। आफ्ना समर्थकहरूलाई पनि त्यस कामका लागि हौसाएको पाइएको छ।

पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको प्रष्ट पार्दछ। अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो। यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ।

नगर प्रमुख राईले जिल्लाको अनलाइन मिडिया एसोसिएसनमार्फत आफ्नो पक्षमा प्रचारप्रसार गर्ने रणनीति अपनाएको र मूलधारका मिडिया तथा पत्रकारलाई बेवास्ता गरेको पाइयो।

नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिन्छ। तर, धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको छ। यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने देखिन्छ।

उल्लेखित तथ्य र निष्कर्षहरूका आधारमा यस प्रकरणमा थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको जानकारी गराइन्छ। साथै, पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन्छ।

रामप्रसाद दाहाल
महासचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad