रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएपछि उनकी श्रीमती निकिता पौडेल पनि इजलासमा पुगेकी छन्।
बिहानै कार्यालय खुल्दा नखुल्दै अदालतमा हाजिर हुन पुगेका रविले दिउँसो बयान दिँदासम्म निकिता आइपुगेकी थिइनन्।
रविलाई आज न्यायिक हिरासतमा पठाउने कि नपठाउने भनेर न्यायाधीश माधवप्रसाद अधिकारी र रविका कानुन व्यवसायीबीच लामो सवालजवाफ चलेको थियो।
रविले आजै बहस पनि सकिदिन वा परिवारको जिम्मा लगाइदिन माग गरेका थिए।
तर न्यायाधीश अधिकारीले इजलासबाट सबैलाई समान व्यवहार हुनुपर्ने भन्दै आज प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन्।
रविलाई प्रहरीको जिम्मा लगाउने आदेश भएपछि उनलाई भेट्न निकिता इजलासमै पुगेकी हुन्।
अहिले रविलाई प्रहरीको जिम्मा लगाउने प्रक्रिया चलिरहेको छ।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी छ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ। उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए। उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा बयान लिइएको थियो।
रविविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए। सरकारी वकिलले रविको बयान पढ्न समय माग गरेपछि थुनछेक बहस अब भोलि हुने भएको छ।
यस प्रकरणका पक्राउ परेका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका थिए।
Shares

प्रतिक्रिया