जिल्ला प्रशासन कार्यालय, धनकुटाले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।
बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको उच्च जोखिम रहेकाले रात्रिकालीन यातायात सञ्चालमा रोक लगाइएको जनाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालयले विशेष सतर्कतासम्बन्धी सूचना पनि जारी गरेको छ।
प्रशासनले जारी गरेको सूचनामा भेडेटारदेखि रवि(राँके सडक खण्ड, मूलघाटदेखि पाँचथरको सिमानासम्मको तमोर कोरिडोर र भेडेटारदेखि तेह्रथुम, संखुवासभा, भोजपुर तथा पाँचथरसम्म जाने सम्पूर्ण सवारी साधनलाई राति ७ देखि बिहानको ५ बजेसम्म सञ्चालन गर्न पूर्ण रोक लगाइएको छ।
यो अवधिमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि सचेत गराइएको छ।
विपद्को पूर्वतयारी स्वरूप तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयं सेवकलगायत सरोकारवाला सम्पूर्ण निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशित गरिएको छ। यसै गरी सम्बद्ध आयोजनाले जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर तथा लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनिएको छ।
यससँगै जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपद् प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गरिने जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार साउन २ र ३ गते धनकुटालगायत देशका विभिन्न भू-भागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ।

Shares

प्रतिक्रिया