कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेपछि रवि लामिछानेलाई नपक्रेको भन्दै प्रहरीको भूमिकामा इजलासमै प्रश्न उठेको छ।
काठमाडौँ जिल्ला अदालतमा रविको थुनछेक बहसका क्रममा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गर्ने कानुन व्यवसायीले प्रहरीको भूमिकामा प्रश्न उठाएका हुन्।
‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनुपर्ने थियो। यहाँ लिगल प्रोसेसमै गडबडी गरिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो,’ वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भने।
पोखराको सूर्यदर्शन सहकारी रकम संगठित तवरले ठगेको र गैरकानुनी सम्पत्ति शुद्धीकरणसमेत गरेको अभियोगमा मुद्दा चलाइएका रविलाई कास्की जिल्ला अदालतले बिहीबार ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। न्यायाधीश नितिज राईको इजलासबाट भएको उक्त आदेशलगत्तै रविले उक्त धरौटी जम्मा गरेका थिए।
रवि यस मुद्दामा छुटी जाने भए अन्य जिल्लामा पनि सहकारी ठगीकै अभियोगमा मुद्दा चलाउनुपर्ने भएकाले प्रहरीको जिम्मा दिनुपर्ने माग अभियोगपत्रमा गरिएको थियो।
तर, प्रहरीले कास्की अदालतबाट रवि छुटेपछि पक्राउ गरेन। अदालतमा काठमाडौँ अदालतमा आफै उपस्थित हुने गरी कागज गराएर छाड्यो। रविका लागि प्रहरीले यस खालको सुविधा दिएर विशेष व्यवहार गरिएको जाहेरवालाका कानुन व्यवसायीले बताए।
जाहेरवालाका तर्फबाट डा भण्डारीले बहस गरिरहँदा न्यायाधीश अधिकारीले समयतर्फ ध्यानाकर्षण गराएका थिए। भण्डारीले आफू पीडितको तर्फबाट उपस्थित भएको भन्दै समयको सीमा नराखिकन बोल्न पाउनुपर्ने माग राखे।
यसबीचमा रविका तर्फबाट बहस गर्न उपस्थित भएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न नहुने’ बताएका थिए। रवि आफै अदालतमा उपस्थित भएकाले हिरासतमा पठाउन नमिल्ने उनको तर्क थियो।
रमनलाई जवाफ दिँदै भण्डारीले यस मुद्दामा कास्की प्रहरीले नियन्त्रणमा नलिएर कानुनी प्रक्रियामै गडबडी गरेको बताएका हुन्।
सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएको छ। मंगलबार सार्वजनिक बिदा परेकाले बुधबार मात्र बाँकी बहस हुनेछ।
अब रविका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश गर्नेछ।
सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल, बिना खड्का थापा, पूर्णेन्द्र पाण्डेसहितले बहस गरेका थिए। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख रामहरि शर्मा काफ्लेले पनि रविविरूद्ध बहस गर्दै रविलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।
जाहेरवालाका तर्फबाट भण्डारीका साथै दिनेशमणि त्रिपाठीले पनि बहस गरेका थिए।
बहसका क्रममा सरकारी वकिलले भने, ‘संगठित रूपमा, योजनाबद्धरूपमा ठगी भएको छ। सहकारीका हजारौँ बचतकर्ताको रकम ठगिएको छ। ८ सयभन्दा बढी चेक काटिएका छन्। स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन। यति धेरै तलब, सुविधा भोग गर्न सक्ने, चेक काट्न सक्ने व्यक्तिले मलाई थाहा थिएन भनेका भरमा छुट पाउनुहुँदैन।’
कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा रविसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको हो।
यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।
Shares

प्रतिक्रिया