समाज


काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको बैठक। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ ४, २०८१ शुक्रबार १५:५, काठमाडौँ

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ। 

विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन शुक्रबार बसेको काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो।
 
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा भएको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो।

प्रतिवेदनअनुसार ३ महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेको समिति गठन गरिएको बताइएको छ। 

समितिमा विश्वविद्यालयबाट प्रा डा. ऋषिकेश वाग्ले र प्रा डा. मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा. विराजमान कर्माचार्य र प्रा डा. राजीब श्रेष्ठ रहेका छन्। 

यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गरेका थिए। 

विसं. २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औँ सभाको बैठकको मार्गदर्शनअनुसार आपसी संवाद थाल्ने निधो भएको थियो।

उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन
बैठकले विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनःविचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन दिएको छ।

उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरुलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी मेडिकल संकायका शिक्षकहरुले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनःविचार गर्न निर्देशन दिएको हो। 

दुई–दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको हो। 

पूर्व उपकुलपति प्रा डा. सुरेशराज शर्माको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रकाशन गरेको सूचनाका आधारमा दरखास्त  प्राप्त  भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad