नदिएको परीक्षामा पनि सहसचिवमा उत्तीर्ण भएको प्रकरणमा परीक्षा शाखाबाट गल्ती भए पनि त्यो नियतवश नभएको निष्कर्ष लोक सेवा आयोगको आन्तरिक छानबिनले निकालेको छ।
न्याय सेवाका २ उपसचिवस्तरका कर्मचारीले दिँदै नदिएको परीक्षामा उत्तीर्ण भएको भनी सहसचिवमा नाम निकालिदिएको विषयमा सहसचिव गीताकुमारी होमेगाईको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। उक्त समितिले परीक्षा शाखाबाट हाजिरी फाराम बनाएर पठाउँदा नै गल्ती भएको तर त्यसमा कर्मचारीको बदनियत नरहेको निष्कर्ष निकालेको हो।
कुरा गत मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको न्याय सेवाअन्तर्गत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा कानुन मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतको नाम न्याय, कानुन र सरकारी वकिल समूहमा नाम निस्किएको थियो। उनले कानुन समूहमा मात्र जाँच दिएका थिए।
त्यस्तै अर्का परीक्षार्थी सपना अधिकारी गौतमले न्याय र कानुन समूहमा मात्र जाँच दिएकी थिइन्। तर, माघ १ गते नतिजा प्रकाशन हुँदा उनको नाम सरकारी वकिलको सहसचिवमा पनि निस्कियो।
त्यसपछि आयोगले माघ ११ गते नतिजा संशोधन गरेको छ।
लोक सेवाकै परीक्षामा यस्तो लापरबाही– नदिएको परीक्षामा पनि पास, सहसचिवमा निस्कियो नाम
यस प्रकरणको छानबिन गर्न गठित समितिकी संयोजकसमेत रहेकी आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी-
परीक्षा नै नदिए पनि सहसचिवमा उत्तीर्ण भएको नतिजा कसरी प्रकाशन भयो?
हामीकहाँ लिखितमा संयुक्त र एकीकृत परीक्षा प्रणाली छ। समान योग्यता तोकिएका सेवा समूहमा किन फरकफरक परीक्षा लिने भनेर यो प्रणाली अपनाइएको हो। यसबाट समय र स्रोतसाधन बचत हुन्छ। उम्मेदवारलाई पनि राहत हुन्छ। एउटै जाँच दिए समान योग्यताका सबै समूहका लागि पुग्छ। तर, यसपालि न्याय सेवाअन्तर्गतको आन्तरिक प्रतियोगितात्मक परीक्षामा समूह नखुलाई हाजिरी लिँदा परीक्षार्थीले जाँच नदिएको समूहमा पनि नतिजा प्रकाशन हुन पुग्यो। यसमा हामीले तत्कालै छानबिन गरी नतिजा संशोधन गरिसकेका छौँ।
हाजिरी नहेरी नतिजा प्रकाशन हुन्छ?
हाजिरी नहेरी नतिजा प्रकाशन हुँदैन। यस घटनामा हाजिरीको फाराममा ‘न्याय सेवा’ भन्ने मात्र उल्लेख भएछ। न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूह छन्। कुन-कुन समूहको प्रतिस्पर्धामा परीक्षार्थी सामेल हुन चाहेको हो भनेर उल्लेख गर्न छुटेको हो। सामान्यतः उम्मेदवारले सबै समूहमा प्रतिस्पर्धा गर्छन्। त्यही अनुमान भयो होला। अनि नतिजा प्रकाशन हुँदा एकजनाले एउटा मात्र समूहमा परीक्षा दिएको तर तीनवटै समूहमा नाम निस्कियो। अर्को उम्मेदवारले दुईवटा समूहका लागि मात्र परीक्षा दिएको तर नतिजा तीनवटैमा निस्कियो।
जाँचै नदिएको परीक्षामा पनि उत्तीर्ण भएपछि लोक सेवाको विश्वसनीयतामै प्रश्न उठेको छ। खासमा दोष कसको हो?
यसमा कसैको दोषभन्दा पनि मानवीय कमजोरी भएको हो। यो नियतवश होइन। कसैको बदनियत छैन। जाँचै नदिएको विषयमा पनि उत्तीर्ण गरादिऊँ भनेर कसैले मनसायवश दुस्साहस गरेको देखिँदैन। प्रारम्भिक छानबिनबाट त्रुटि देखिएपछि तत्कालै नतिजा संशोधन गर्यौँ। समयमै पत्ता लगायौँ। अहिले त्यति नै हो।
नतिजा नै संशोधन गर्नुपर्ने अवस्था आयो। तैपनि सामान्य कमजोरी...?
हेर्नुहोस्, ठूल्ठूला परीक्षा लिनुपर्ने हुन्छ। डेढ-दुई सय परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ। बाहिरको जनशक्तिको पनि सहयोग लिनुपर्ने हुन्छ। यस्तो हुन्छ कहिलेकाहीँ।
हेर्दा सामान्य कमजोरी नै भए पनि बाहिर लोक सेवाको साखमा गम्भीर प्रश्न उठेको छ। दोषीमाथि के कारबाही हुन्छ?
मैले भनिहालेँ, यसमा कसैको बदनियत छैन। अब यस्तो त्रुटि नदोहोरियोस् भनेर सम्बन्धित पक्षलाई सचेत गराइसकिएको छ। बाँकी के कारबाही गर्ने भनेर आयोगको बैठकले सचिवज्यूलाई जिम्मेवारी दिएको छ। आवश्यक प्रक्रिया अब उहाँबाटै अघि बढ्ला।
Shares

प्रतिक्रिया