मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी मुद्दामा सहकारीका अध्यक्ष श्याम रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन्।
मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षका थुनामा पठाउने आदेश गरेको हो।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो।
पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि गत सोमबार उनी अदालतमा उपस्थित भएका थिए ।
मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो।
Shares

प्रतिक्रिया