समाज


काठमाडौँ परिसरमा अब दुई एसपी, अपराध अनुसन्धानमा पनि थपियो

काठमाडौँ परिसरमा अब दुई एसपी, अपराध अनुसन्धानमा पनि थपियो

नेपालखबर
माघ २१, २०८१ सोमबार १३:३६, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप एसपी खटाएको छ। आइतबार बेलुकाको निर्णय अनुसार अब काठमाडौँ परिसरमा दुई जना एसपी रहने भएका छन्। 

यसअघि पनि दुई जना एसपी खटाउने तयारी भएको थियो। तर त्यतिबेला खटाइएका एसपी परिसरमा हाजिर भएका थिएनन्। 

हालै बढुवा भएका दुई जना एसपीलाई परिसर र अनुसन्धान कार्यालयमा काजमा खटाउने निर्णय भएको छ। परिसरका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि अपिलराज बोहरालाई सरुवा गरिएको थियो। 

बोहरा परिसरमा हाजिर भइसकेका छन्। अब एसपी कुलदीप चन्दलाई पनि काजमा खटाइने भएको हाे। 

पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। तर उनलाई काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाउने निर्णय भएको छ। योगेन्द्र सिंह थापा सरुवा भएकाले उनको स्थानमा चन्दलाई पदस्थापन गरिए पनि काठमाडौँमा खटाउने निर्णय भएको हो। 

यता अपराध अनुसन्धान कार्यालयमा पनि अब तीन जना एसपी खटाउने निर्णय भएको छ। यसअघि यहाँ काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन्। 

अब एसपी मनोहर प्रसाद भट्टलाई पनि सोही कार्यालयमा काजमा खटाइने भएको हो। 

उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ। महेन्द्र कुमार श्रेष्ठको स्थानमा पदस्थापन भए पनि भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले जानकारी दिए। 

यी दुवै कार्यालयमा कामको चाप बढी भएकाले थप एसपी खटाउने निर्णय गरिएको प्रवक्ता आचार्यले बताए। 

‘तत्काललाई कामको लोडका आधारमा खटाउने निर्णय भएको हो। यी दुवै कार्यालयमा थप आवश्यक महसुस भएर एसपी थप गरिएको हो। पछि आवश्यकताका आधारमा निर्णय हुन्छ,’ डीआईजी आचार्यले नेपालखबरसँग भने। 

हालै बढुवा भएका ३७ जना एसपीको आइतबार बेलुका पदस्थापनको निर्णय भएको छ। पदस्थापनसँगै यी दुई कार्यालयमा भने एसपी पनि थप गरिएको हो। 

३७ एसपीको पदस्थापन: काठमाडौँमा चन्द, अपराध अनुसन्धानमा भट्ट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad