समाज


छपेली-माझखण्ड केबुलकारको शिलान्यास

छपेली-माझखण्ड केबुलकारको शिलान्यास

नेपालखबर
माघ २१, २०८१ सोमबार २१:४, काठमाडौँ

ललितपुरको दक्षिणी क्षेत्रस्थित छपेली–माझखण्ड केबुलकार निर्माणको शिलान्यास गरिएको छ।

प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले सोमबार एक कार्यक्रमबीच केबुलकारको शिलान्यास गरेका हुन्।

माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव दिए। उनले यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए।

यस्तै, बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्धनका लागि सुरु गरिएको उक्त योजनाको सफलतासँगै ललितपुरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरू आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँ माझखण्डको मुहार फेर्नमा केबुलकार निर्माणको काम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए।

यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ। काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए।

महारुद्रेश्वर महादेव, विश्वकै ठूलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए।

बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ। कम्पनीका अनुसार १ अर्ब २० करोड लगानीमा केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ। आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad