कोरोना भाइरस (कोडिभ—१९) संक्रमणबाट अमेरिकाको न्युयोर्क सहर निवासी एक नेपालीको मृत्यु भएको छ। तीन दिनदेखि अस्पतालमा उपचारत ५० वर्षीय अनिल लिम्बूको अमेरिकी समयअनुसार सोमबार राति निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जनाए।
पुर्ख्याैली घर नेपालको पाँचथर, रानीगाउँ भएका उनी करिब दुई दशक अघिदेखि परिवारसँगै ज्याक्सनहाइट, न्युयोर्क, अमेरिकामा बसोबास गर्दै आएका थिए। न्युयोर्कमा व्यवसाय गर्ने मृतक लिम्बूले २०१५ देखि २०१७ सम्म एनआरएनए न्युयोर्क च्याप्टर बोर्ड आफ डाइरेक्टरको भूमिका निर्वाह गरेका थिए।
कोरोना संक्रमणका कारण अवस्था नाजुक बनेपछि अस्पताल भर्ना भएका उनलाई तीन दिनदेखि न्युयोर्कस्थित एल्महस्ट अस्पतालको भेन्टिलेटरमा सारिएको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङका अनुसार लिम्बू परिवारका सबै सदस्यलाई कोरोना लक्ष्यण देखिएको छ। उनीहरुको टेस्ट रिपोर्ट आउन बाँकी छ।
संक्रमणबाट गम्भीर रहेका अर्का एक जना नेपालीको एल्महस्ट अस्पतालकै भेन्टिलेटरमा ३ दिनदेखि उपचार भइरहेको छ। बानियाँका अनुसार ४७ वर्षीय उबर चालक उनको अवस्था गम्भीर छ।
न्युयोर्ककै ज्याक्सन हाइट बसोबास गर्ने अर्का ५५ वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण देखिएपछि उपचार भइरहेको छ। ‘उनको अवस्थामा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले नेपालखबरसँग भने।
कोरोना फैलिने देशहरुको सूचीमा पछिल्लो समय अमेरिका अगाडि छ। न्युयोर्क टाइम्सकाअनुसार अमेरिका भित्र पनि न्युयोर्कमा यो भाइरस छिटो फेलिइरहेको छ। न्युयोर्क सहर अमेरिकामा कोरोना संक्रमण देखिने सहरमध्ये अग्रस्थानमा छ। त्यहाँ जाँच गराउने मध्ये २८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया