धनुषाको मिथिला बिहारी नगरपालिका-२, पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय सहिद अन्सारीको भएको पुष्टि भएको छ।
अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर हत्या गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, वैदेशिक रोजगारीको लागि कतारमा रहेका अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। अनिताले अन्सारीलाई श्रीमती बिरामी रहेको झुटो खबर पठाएर नेपाल बोलाएको पनि अनुसन्धानबाट खुलेको प्रहरी अधिकृत बताउँछन्।
२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान्ले अन्सारीलाई बन्चरो प्रहार गरी हत्या गरेको पाइएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।
हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो। माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो।
अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब पुगेको तिवारीले बताए। उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया