सत्तारूढ दल नेकपा एमालेनिकट कानुन व्यवसायीहरूको संगठनबाट नेपाल बार एसोसिएसनको नेतृत्वमा जान साढे तीन दर्जन आकांक्षीले दाबी पेस गरेका छन्।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)ले आज काठमाडौँको अनामनगरमा एक कार्यक्रम गरी ती दाबेदारहरूको नामावली नै घोषणा गरेको छ।
कार्यक्रममा अनलाइन माध्यमबाट नाम दर्ता गराएका र भौतिक रूपमा उपस्थित दाबेदारहरूको नाम पढेर सुनाइएको थियो।
अध्यक्षमा ३ जनाको दाबी
नेपाल बार एसोसिएसनको आगामी चैत २३ गते हुने चुनावका लागि पीपीएलएले विभिन्न पदका लागि ४१ जना आकांक्षीको नाम संकलन गरेको छ। जसमध्ये अध्यक्षका आकांक्षी मात्र ३ जना देखिएका छन्।
बिहीबार दिउँसो घोषणा गरिएअनुसार, वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, टीकाराम भट्टराई र ईश्वरीप्रसाद भट्टराईले यसपालि नेपाल बारको नेतृत्व गर्न चाहेका छन्।
भट्टराईद्वय नेपाल बारका उपाध्यक्ष भइसकेका छन्। टीकाराम भट्टराईले संवैधानिक कानुन व्यवसायी मञ्चको पनि नेतृत्व गरिसकेका छन्। कोइराला विराटनगरमा अभ्यासरत कानुन व्यवसायी हुन्।
महासचिवमा मात्र ९ दाबेदार
महासचिवमा मात्र ९ जनाले इच्छा व्यक्त गरेका छन्।
डा बाबुराम दाहाल, रामचन्द्र सिम्खडा, बालकृष्ण गैरे, डा राजेन्द्र घिमिरे, भुवनप्रसाद निरौला, भीमसेन बन्जारा, पदमबहादुर श्रेष्ठ, कृष्णकुमार आङ्देम्बे र हिमा भट्टराई बस्नेतले महासचिवको टिकटका लागि दाबी गरेका छन्।
उपाध्यक्षमा पदम लिम्बु, कुन्साङ लामा, रमेशप्रसाद गुरागाईँ र महिला उपाध्यक्षका लागि सरस्वती श्रेष्ठ, लक्ष्मी पोखरेल र शोभा कार्कीले दाबी गरेका छन्।
सदस्यमा कुमारप्रसाद घिमिरे, गणेशप्रसाद सिग्देल, हरि बूढाथोकी, सुरेन्द्र तिवारी, राधा जीसी, यशोदादेवी खरेल अधिकारी, रामजनम कटुवाल, हरिप्रसाद मैनाली लगायतले इच्छा व्यक्त गरेका छन्।
यस्तै, निराजन महर्जन, राजेन्द्र भण्डारी, विष्णुकुमार थोकर, नन्दकुमार राई, भद्राकुमारी राउत, कुमार कार्की, ईश्वरकुमार खतिवडा, डा मुकुन्द अधिकारी, विमल निरौला, मोहनकुमार अधिकारी, शारदा गुरुङ र सुधा धितालले पनि सदस्यको टिकट चाहेका छन्।
यसरी टुंगिनेछ टिकट
पीपीएलएका पदाधिकारीहरूका अनुसार, कुन पदमा कसले टिकट पाउने भन्ने कुरा गठबन्धनका घटकहरूबीच हुने भागबन्डामा निर्भर गर्नेछ। ‘जुन पद संगठनको भागमा पर्छ, त्यसैअनुसारको उम्मेदवार हामी दिन्छौँ,’ पीपीएलएका एक पदाधिकारीले भने।
अहिले पीपीएलएसँग गठबन्धनका लागि ९ वटा घटकहरू इच्छुक देखिएका छन्। बिहीबारको कार्यक्रममा पीपीएलएका महासचिव अमर थापाले एसपीएलए (नेकपा एकीकृत समाजवादीनिकट) संगठनलाई पनि मिलाएर लैजान आफूहरू तयार रहेको बताए। उनको भनाइ थियो, ‘एसपीएलएलाई हदैसम्म लचक भएर सँगै लैजान तयार छौँ।’
पीपीएलएले अन्य संगठनहरूसँग चुनावी गठबन्धन बनाउन र पदको भागबन्डा मिलाउन डिल्ली मैनाली र अमर थापा रहेको वार्ता समिति बनाएको छ।
यस्तै अध्यक्षको टुंगो लगाउन भने वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वअध्यक्षहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ लगायतले छलफल गरिरहेका छन्।
‘अध्यक्षमा पीपीएलए र आरपीएलएका आकांक्षीहरूबाट व्यक्तित्व हेरी टुंग्याइन्छ,’ वार्तामा सहभागी नेपाल बारका एक पूर्वपदाधिकारीले भने, ‘यसपालि कुनै संगठन वा राजनीतिक समीकरण नहेरी, विगतका कमीकमजोरीको पनि समीक्षा गरी बारलाई साँच्चैको बार बनाउन सक्ने व्यक्तिलाई अध्यक्षका रूपमा अघि सारौँ भन्ने कुरा भएको छ। तटस्थ मत पनि तान्न सक्ने, सबैको साझा उम्मेदवार बन्न सक्ने व्यक्तित्व पहिचान गरेर अध्यक्षको उम्मेदवार तय गरिन्छ।’
Shares

प्रतिक्रिया