समाज


४ महिनादेखि परिवारले कुरिरह्यो रामभक्तको शव, साउदी सरकारले थाहै नदिई पुरिदियो

उत्खनन् गरेर पठाइदिन सकेन दूतावासले
४ महिनादेखि परिवारले कुरिरह्यो रामभक्तको शव, साउदी सरकारले थाहै नदिई पुरिदियो

उजिर कार्की
फागुन १५, २०८१ बिहिबार २२:२५, काठमाडौँ

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाकी विष्णुदेवी खड्काले पति बितेको ११२ दिनपछि काजकिरिया सुरु गरेकी छन्। कमाउन साउदी पुगेका उनका पति ५१ वर्षका रामभक्तबहादुर खड्काको २०८१ कात्तिक २३ गते मृत्यु भयो। 

मृत्युकै भोलिपल्ट विष्णुदेवीले खबर त पाइन्। तर शव भने झण्डै चार महिना कुर्दा पनि पाउन सकिनन्। आइतबारदेखि साउदीमा रमदान सुरु हुने भएपछि पतिको शव आउने उनको आशा मर्दै गएको छ। 

अब उनलाई नेपाली राजदूतावास साउदीका कर्मचारीले शव पठाइदेलान् भन्ने विश्वास पनि छैन। त्यही भएर बिहीबार कुशको शव बनाएर उनले काजकिरिया थालिन्।  

‘२/४ दिनमा आउँछ भन्दाभन्दै ४ महिना पुग्यो, अब कति कुर्ने र? सरकारले शव ल्याइदिन सकेन। नहुनु भइ त गयो आजदेखि काजकिरिया थाल्यौँ,’ विष्णुदेवीले बिहीबार दिउँसो नेपालखबरसँग भनिन्, ‘दबाइसकेको भए पनि खोतलेर ल्याइदिनु भनेको थिएँ। हाम्रो कुरा कसैले नसुन्दा रहेछन्।’

रामभक्त विदेश जानुपहिले नै उनको परिवार चितवनको भरतपुर महानगरपालिका २ नारायणघाटकम बस्न थालेका थिए। विष्णुदेवी नारायणघाटमा डेरा बसेर छोरीहरू रक्षा (२५) र रुद्दवी (१६) लाई पढाउँथिन्। 

१६ वर्षदेखि यसैगरी चलिरहेको यो परिवारको खुसीमा बज्रपात पर्यो। छोरीहरूको भविश्य उज्ज्यालो बनाउन भरतपुर सरेकी विष्णुदेवीको जीवनमा बादल लाग्यो। 

यतिका वर्ष साउदीमा बिताउँदा रामभक्त दुईदुई वर्षमा बिदामा फर्किन्थे। केही महिना परिवारसँग बिताउँथे र कमाउन जान्थे। यसपटक पनि उनले दुई वर्ष पूरा हुनासाथ गएको असोजमै घर बिदामा आउन खोजेका थिए। तर त्यतिबेला कम्पनीले बिदा दिएन भने। बिदा मिल्नासाथ आउँछु भनेका थिए। 

उनी साउदीको सुलेमन फालेह अल–अन्जी कम्पनीमा ट्रक चालक थिए। गएको कात्तिक २४ गते बिहानै उनका साथीले फोन गरेर रामभक्त सुतेकै ठाउँमा बितेको खबर सुनाए। 

‘हार्टअट्याक भएर मृत्यु भएको भनेका छन् त्यही कम्पनीमा काम गर्ने साथीले। राति सुतेकै ठाउँमा मृत्यु भएको भनेर भोलिपल्टै फोन गरेका थिए। कम्पनीले चाहिँ हामीलाई केही पनि भनेन, फोन नै गरेन,’ विष्णुदेवीले सुनाइन्। 

स्वास्थ्य मन्त्रालयको रियादस्थित मृत्यु मामिला विभागले मृत्यु प्रमाण पत्रमा उनको प्राकृतिक मृत्यु उल्लेख गरेको छ। 

भाइको काजकिरिया गर्नका लागि लमजुङबाट प्रेमबहादुर खड्का बिहीबार दिउँसो भरतपुर आइपुगे। उनी आइपुगेपछि विष्णुदेवी र उनकी ठूली छोरी रक्षा काममा बसेका छन्। 

साउदी सरकारले थाहै नदिई पुरिदियो
रामभक्तको शव नेपाल ल्याएरै अन्तिम संस्कार गर्न विष्णुदेवीको परिवारले खबर आउनासाथ पहल थालेका थिए। उनीहरूले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्थादेखि वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग र साउदीस्थित नेपाली दूतावासमा पनि निवेदन दिए। 

तर यी कार्यालयले पहल नै गरेनन् कि गरेको पहलले पनि सार्थकता पाएन विष्णुदेवीलाई थाहा छैन। पुस २३ गते कन्सुलर सेवा विभागमा विष्णुदेवीले निवेदन दिइन्। जतिबेला उनका पतिको शव साउदी सरकारले पुरिसकेको थियो। 

उनले निवेदनमा अनुरोध गरेकी थिइन्, ‘केही दिनअघि मात्र मेरा श्रीमानको शव उतै साउदी अरबमा दफनाएको कुरा आएको छ। जो जस्तो भए पनि मेरो श्रीमानको शव जस्तो अवस्थामा रहे पनि नेपालमा ल्याइ आफ्नो धर्म परम्परा अनुसार अन्त्येष्टि गर्नका लागि साउदी अरबमा रहेको नेपाली राजदूतावासलाई आवश्यक कूटनीतिक पहल गरी यथाशीघ्र शव नेपालमा पठाइदिन सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछु।’

उनले निवेदन दिनुपहिले साउदीको दूतावासबाट शव पहिल्यै पुरिसकेको खबर आयो। साउदीमै रहेका आफन्तलाई बुझ्न लगाइन्। उनले बुझ्दा पनि १० दिनपहिले नै पुरिसकेको भन्ने जानकारी आयो। 

त्यसपछि उनले पुरिसकेको भए पनि शव निकालेर पठाइदिन निवेदन दिइन्। कन्सुलर सेवा विभागले र दूतावासले पहल गरिरहेको बताए। मंगलबार उनले साउदीस्थित दूतावासका कर्मचारीसँग अन्तिमपटक कुरा गरिन्, त्यही जवाफ आयो, ‘अझै केही दिन लाग्छ भनेको छ। अब आइतबारदेखि रमदान सुरु हुन्छ। त्यसपछि एक महिना बिदा हुन्छ। हामी पहल गरिरहेका छौँ।’

कन्सुलर सेवा विभागले पनि उनलाई त्यही जवाफ दियो, साउदीस्थित दूतावासबाट पहल भइरहेको छ भन्ने। अब एक महिना रमदानमा बिदा हुन्छ भनेपछि भने विष्णुदेवी अन्तिम संस्कार गर्ने निर्णयमा पुगिन्।

अझै पनि उनलाई शव नेपाल ल्याउन सकिन्छ भने खोतलेर पठाइदिए हुन्थ्यो भन्ने लागेको छ। 

विष्णुदेवी भन्छिन्, ‘हामीलाई आउँदैन जस्तो लागेर काम थालेका हौँ। अझै पनि उहाँहरूले (दूतावास) पठाइदिन सक्नुहुन्छ भने पठाइदिन भनिदिनु न ल। म फेरि जसरी किरिया गर्नु पर्छ, गर्छु। तर शव नेपालमै ल्याउन पाए हुन्थ्यो।’

दूतावास पनि कसरी उनको शव पुरियो भन्ने थाहा नभएको बताउँछ। पोस्टमार्टमका लागि अस्पतालमा लगिएको थियो। अस्पतालबाटै त्यहाँका निकायले नेपाली दूतावास र परिवारलाई सोधिखोजी नै नगरेको दूतावासको भनाइ छ।

यत्तिका दिन रामभक्तले काम गरेको कम्पनी सम्पर्कमा छैन। साउदीको कम्पनी त सम्पर्कमा थिएन नै आफ्नै देशको सरकारलाई निवेदन चढाए पनि विष्णुदेवीले खोजेजस्तो सहयोग पाइनन्।

कन्सुलर सेवा विभागका निर्देशक लेखनाथ गौतम भन्छन्, ‘हिजो दूतावासले परिवारलाई सम्पर्क गरेर अझै ५ दिन समय लाग्ने जानकारी दिएको रहेछ। रमदानको बिदा भोलिदेखि नै सुरु हुने रहेछ तर यो अवधिमा पनि हुन्छ भन्ने ग्यारेन्टी देखिएन।’

शव उत्खनन् गरेर नेपाल पठाउन धेरैवटा कार्यालयसँग समन्वय गर्न पर्ने भएकाले पनि ४/५ दिनमै हुन्छ भन्नेमा निर्देशक आफै पनि ढुक्क छैनन्। 

‘हामी दिनदिनै मृतकका परिवारसँग कुरा गरिरहेका छौँ। साउदीको दूतावासमा पनि कुरा भइरहेको छ। उहाँहरू पनि एकजना मान्छे नै खटाएर त्यो केसमा लागिरहनु भएको छ’, निर्देशक गौतमले भने, ‘शव समेत समयमा ल्याउन नसक्दा हामी पनि दुःखी छौँ, यो भन्दा पीडाको कुरा के हुनसक्छ र!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad