समाज


राजावादीको प्रदर्शनमा अप्रिय घटना हुन नदिन थपियो १४४६ प्रहरी

राजावादीको प्रदर्शनमा अप्रिय घटना हुन नदिन थपियो १४४६ प्रहरी

नेपालखबर
फागुन २५, २०८१ आइतबार १३:५४, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने र त्यही मौकामा राजावादीहरूले प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

शाह विमानस्थलबाट निर्मल निवास फर्किने रुटमा सुरक्षा सतर्कता बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।

शाहको आवागमन हुने दुवै विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको छ। पोखरा विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पूर्वराजा शाह पोखराबाट समिट एअरको चार्टर्ड उडानमार्फत दिउँसो साढे ३ बजे काठमाडौँ (त्रिभुवन विमानस्थल) आइपुग्ने कार्यक्रम छ।

उनी त्रिभुवन विमानस्थलबाट निवास जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईंको समूहलगायत विभिन्नत समूहले प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले ठूलो संख्यामा भीड जम्मा गर्ने घोषणा गरेकाले प्रहरीले सुरक्षा सतर्कता बढाएको एसपी खनालले बताए।

उपत्यका प्रहरी कार्यालयले सुरक्षाका लागि थप १४४६ जना प्रहरी थप गरेको छ। यसअघि नियमित डिउटी गर्नेबाहेक विभिन्न गण तथा गुल्मबाट थप प्रहरी झिकाइएको एसएसपी खनालले जानकारी दिए। 

‘भीडभाड बढी भएर बाटोमा ट्राफिक जाम हुन सक्छ। यही भीडमा पक्ष-विपक्ष भएर झडप हुन सक्छ। भीड अनियन्त्रित भएर अप्रिय घटना हुन सक्ने, निषेधित क्षेत्र तोड्न सक्ने र भीड अनियन्त्रित भएर अवाञ्छित गतिविधि हुन सक्ने हुनसक्छ। भीड नै पक्ष-विपक्षमा गएर अनियन्त्रित भएर असहज परिस्थिति नबनोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो’, एसएसपी खनालले नेपालखबरसँग भने।

विमानस्थलको गेट भएर चल्ने सवारीसाधनलाई समेत अन्य रुटबाट चलाउने तयारी ट्राफिक प्रहरीले गरेको छ। त्यहाँको अवस्था हेरेर तीनकुनेदेखि गौशालासम्मको रुटमा चल्ने सवारीसाधनलाई बागमती किनारको रुटमा लगाउने तयारी रहेको ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले बताए। 

‘अहिले नै त्यो अवस्था छैन। भीडभाड जम्मा हुन थालेका छन्। अवस्था हेरेर निर्णय गर्छौँ’, घिमिरेले भने।यस्तै सशस्त्र प्रहरी पनि उक्त रुटमा बाक्लो रूपमा परिचालन गरिएको छ। डीआईजी कुमार न्यौपानेका अनुसार सशस्त्रका ७ सयभन्दा बढी जना खटाइएको हो। 

दुवै प्रहरीले थप रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राखेका छन्।

तर बाहिर हल्ला भएजस्तो अवस्था भने नरहेको दुवै प्रहरीको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad