समाज


बटेश्वरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

बटेश्वरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत १२, २०८१ मंगलबार १६:१३, काठमाडौँ

धनुषाकाे बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको अख्तियारको आरोप छ।

सो सम्बन्धी उजुरीउपर अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखा अधिकृत पुरीले बटेश्वर गाउँपालिकाबाट आ.व. २०७६।०७७ मा विभिन्न वडाहरूमा स्वास्थ्य केन्द्र निर्माण र डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको लागि ठेक्का बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रकाशन गरेको पाइएको थियो।

सो पत्रिकाका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृज कुमार यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी बटेश्वर गाउँपालिकाको ठेक्काको कार्यालयमा अभिलेख राख्ने प्रयोजनार्थ जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७६/१०/२४ मा एक प्रतिमात्र बोलपत्र आह्वान र मिति २०७६/१२/३ मा एक प्रतिमात्र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरेको अख्तियारको आरोप छ।

सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., जनकपुर टुडेको बिलबाट माग भएको रकम रू.६ लाख ४४ हजार एक सय रुपैयाँ जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.लाई भुक्तानी दिएको अख्तियारले जनाएको छ।

अख्तियारले चौधरी र पुरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रू.६ लाख हजार एक सय रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असूल उपर हुन मागदाबी लिइएको छ।

यस्तै, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. तथा उक्त कम्पनीका अध्यक्ष वृज कुमार यादवलाई पनि मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad