समाज


बुद्धिस्ट एजुकेसन भवन निर्माणमा लापरबाही, तत्काललाई रोक्न उपप्रमुख डंगोलको निर्देशन

बुद्धिस्ट एजुकेसन भवन निर्माणमा लापरबाही, तत्काललाई रोक्न उपप्रमुख डंगोलको निर्देशन

नेपालखबर
चैत १४, २०८१ बिहिबार १६:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर–१५ को  किमडोलमा निर्माण हुँदै गरेको धर्मकीर्ति विहारको स्वामित्वमा भएको बुद्धिस्ट एजुकेसन भवनको काम तत्काललाई रोक्न निर्देशन दिएको छ।

अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख सुनिता डंगोलले स्थलगत निरीक्षणका क्रममा यस्तो निर्देशन दिएकी हुन्।

विज्ञ टोली लिएर त्यहाँ पुगेकी डंगोलले सम्झौताअनुसार काम नभएको भन्दै निरीक्षणछि भवन निर्माणको काम रोक्न भनेकी हुन्।

२०८२ भदौ २२ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको सो भवन ५६ लाख ५८ हजार ३ सय ७२ रुपैँया भ्याटबाहेक निर्माण सम्झौता भएको छ।

डंगोलले सम्झौताअनुसार काम नभएपछि तत्कालका लागि निर्माणको काम रोक्न निर्देशन दिएको जानकारी दिइन्।

‘भवन निर्माणका क्रममा भर्‍याङ नमिलेकाले भत्काउनुपर्ने अवस्था देखियो। त्यसैगरी फर्मामुनि इँट राख्नेलगायतका काममा पनि लापरवाही भएको पाइयो,’ उपप्रमुख डंगोलले भनिन्, ‘अनुगमन गर्दा काम सन्तोषजनक नदेखिएपछि अर्कोपटक काम सुरु गर्नुभन्दा अगाडि पुनः अनुगमन गर्ने र त्यसपछि मात्रै भवन निर्माणको काम थाल्ने भनेर निर्देशन दिएका छौँ।’ 

उनले सम्झौताअनुसार सबै काम सुधार नगरेसम्म रकम निकासा नगर्ने पनि जानकारी दिइन्। ढलान गरेको ठाउँमा पानी हाल्ने लगायतका काममा समेत लापरबाही भएको पाइएको उनले जानकारी दिइन्। 

सुपरभिजन गर्ने आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियरले पटक–पटक मौखिक निर्देशन तथा सुझाव दिदा समेत सो बमोजिमको कार्य नगरेको भनिएकोले अब उप्राप्त फोकल पर्सन, आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियर मार्फत् सम्बन्धित विभागबाट लिखित स्वीकृति नगरी कुनै काम अगाडि नबढाउन पनि निर्देशन दिइएको छ।  

डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तर र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै यो अनुगमन पनि नियमित भएको जानकारी दिइन्।

‘हामी अनुगमनमा पूर्वजानकारीबिना नै जाने गरेका छौँ। आज पनि हामी पूर्वजानकारीबिना नै त्यहाँ पुगेका थियौँ । प्राविधिक टीमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कमजोरी पाएपछि रोक लगाएका हौँ,’ उनले भनिन्।

उनले अनुगमनको काम परियोजनाहरु सम्पन्न भएपछि मात्रै होइन परियोजनाहरु सुरु हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको जानकारी पनि दिइन्।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पनि सम्झौता अनुसार काम नभएकाले निर्माणमा रोक लगाएको बताए।

भवन निर्माणको काम श्री आदि इन्जिनियरिङ सर्भिसेज प्रालिले गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad