समाज


मुठभेड हुन नदिन समाजवादी मोर्चाको र्‍याली रिङरोडभित्र र राजावादीको बाहिर

५५ सय प्रहरी थप, सबै र्‍याली एस्कोर्टिङ गर्ने, दुई समूहलाई भेट हुनै नदिने
मुठभेड हुन नदिन समाजवादी मोर्चाको र्‍याली रिङरोडभित्र र राजावादीको बाहिर

उजिर कार्की
चैत १४, २०८१ बिहिबार २१:५८, काठमाडौँ

चार दलीय समाजवादी मोर्चा र राजावादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ। दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको हो। 

भोलि शुक्रबारका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ। राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ। समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ। 

त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ। दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्‍याली सुरु तय भएको छ। ४ दलका सबैतिरका र्‍याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन्। 

हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पुर्‍याउने छ। दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए। 

‘त्यसका लागि नियमित ड्युटीको अलावा हामीले ३५ सयभन्दा बढी प्रहरी थप गरेका छौँ। त्यसमा सूचना संकलनका लागि सादा पोसाकका प्रहरीदेखि सडक यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी पनि खटिन्छन्,’ एसएसपी खनालले नेपालखबरसँग भने, ‘सवारी जाम हुन सक्ने भएकाले डाइभर्सनको व्यवस्था मिलाइएको छ। अवस्था हेरेर तत्काल निर्णय हुन्छ।’

यस्तै सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए। 

समाजवादी मोर्चाको र्‍याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। ललितपुरको कुपण्डोलबाट नेकपा माओवादी केन्द्रको र्‍याली सुरु हुनेछ। कुपण्डोलबाट थापाथली हुँदै त्रिपुरेश्वर पुगेर त्यहाँको पनि जुलुस मिसिने छ। त्यसपछि सुन्धारा, न्युरोड गेट, शान्तिवाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा पुग्नेछ। 

यस्तै माओवादी केन्द्रकै नेतृत्वमा बबरमहलबाट माइतीघर मण्डला थापाथली, त्रिपुरेश्वर, सहिदगेटबाट भद्रकाली हुँदै कार्यक्रमस्थलमा पुग्नेछ। नेकपा विप्लवको नेतृत्वमा सुन्धाराबाट र्‍याली हुनेछ। न्युरोड गेटबाट नेपाल समाजवादीको नेतृत्वमा, सोह्रखुट्टेबाट माओवादी केन्द्रको नेतृत्वमा तथा शान्तिवाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा र्‍याली हुनेछ। कार्यक्रमस्थल पुग्नेबेलामा यी र्‍याली मिसिने छन्। 

यस्तै राजावादीको र्‍याली पनि भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट तीनकुने पुग्ने तय छ। उनीहरूका सबै र्‍याली रिङरोडबाटै कार्यक्रमस्थल पुग्नेछन्। रिङरोडभित्रबाट राजावादीको र्‍याली सुरु हुने छैन। उनीहरू रिङरोडमा जम्मा भएर मात्रै र्‍याली सुरु गर्ने छलफल भएको छ। प्रहरीले त्यहाँबाट एस्कोर्टिङसहित उनीहरूलाई पनि कार्यक्रमस्थल तीनकुने पुर्‍याउने भएको छ। 

दुवै कार्यक्रम दिउँसो १२–१ बजेतिर सुरु हुने तय छ। जिल्ला सुरक्षा समितिले दुवै टोलीसँग यसअघि पटकपटक छलफल गरेर कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न भनेको छ। दुवै टोलीले शान्तिपूर्ण र मर्यादित रुपमा कार्यक्रम गर्न सहमति जनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

दुवै कार्यक्रममा सुरक्षाका लागि एसपीको कमान्डमा टोली फिल्डमा खटिने छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा र कुलदीप चन्दले एक एक तिर फिल्ड कमान्ड गर्नेछन्। 

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसहित सबै सुरक्षाकर्मीका काठमाडौँ प्रमुखहरूको कमान्ड सेन्टर भद्रकालीस्थित कार्यालयमा रहनेछ। त्यहाँबाट दुवैतिरको सुरक्षा अवस्थाको निरीक्षण हुने र आवश्यकता अनुसार थप टोली परिचालनको निर्देशन हुनेछ। 

कार्यक्रमस्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे प्रहरीले त्यही अनुसारको तयारी गरेको अधिकारीले बताए। 

तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन हुनेछ। त्यहाँ राजावादी दलहरू पनि मिसिने भएका छन्। 

प्रदर्शनीमार्गमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रको रक्षाका लागि प्रदर्शन गर्ने भनेका छन्। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किंदा काठमाडौँबाट भव्य र्‍यालीसहित राजावादीले निर्मल निवास पुर्‍याएपछि दलहरू आक्रोशित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad