समाज


कुलमान र हितेन्द्रदेवको रिट चूडाल र पाण्डेयको इजलासमा

कुलमान र हितेन्द्रदेवको रिट चूडाल र पाण्डेयको इजलासमा

नेपालखबर
चैत १९, २०८१ मंगलबार १०:४८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेका छन्।

सर्वोच्च अदालतले भर्खरै प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन्।

यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ नभएपछि मंगलबार सरेको हो।

आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए। 

हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण त्यस दिन ‘हेर्न नमिल्ने’ मा परेको हो।

कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन्। उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि लिएका छन्।

यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाएको थियो।

सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad