नेपाल विद्यालय कर्मचारी परिषद्ले आफू मातहतका विद्यालयका कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चाबी लिएर काठमाडौँ आउन सर्कुलर जारी गरेको छ।
शिक्षकहरु आन्दोलित हुँदाहुँदै पनि विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै परिषद्ले चाबीसहित आएर काठमाडौँको आन्दोलनमा सहभागी हुन भनेको हो।
‘प्रस्तुत विषयका सम्बन्धमा नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भईरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ सर्कुलरमा भनिएको छ, ‘साथै शैक्षिक हडताल भैरहेको यस विषम परिस्थतिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीहरुको हकअधिकार स्थापित गर्ने परीवर्तनगामी महान यात्रा छुट्ने अधिकार कसैलाई छैन, यसको दूरगामी असर सम्पूर्ण शिक्षा क्षेत्रमा पर्ने कुरामा सचेत रहन सम्पूर्ण पक्षमा समेत सूचित गरिन्छ।’
विद्यालय शिक्षा ऐनसहितका विभिन्न्न माग राखेर शिक्षकहरु २१ दिनदेखि आन्दोलित छन्। सरकारसँग सम्झौता हुनसकेपछि शिक्षकले आन्दोलन जारी राखेका छन्। अर्कोतिर, सरकारले कक्षा १२ को परीक्षा शिक्षकबिना नै संचालन गर्ने तयारी गरिरहेको छ।

Shares

प्रतिक्रिया