समाज


मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

नेपालखबर
असार २१, २०७६ शनिबार ५:४९,

 गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ।

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको रु २५ लाखमध्येबाट रु १० लाखमा ३१ हजार बिरुवा लगाइएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशका कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिए।

नमूना कृषि गाउँ रेशको बौर–तिङ्रिङको ५० रोपनी क्षेत्रफलमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको शर्माले बताए। समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको भिरालो जमिनमा चिया तथा अलैँची खेतीको राम्रो सम्भावना देखेपछि चिया तथा अलैँचीखेती गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए।

कृषिउपजमा आत्मनिर्भर गराउने उद्देश्य राखेको गाउँपालिकाले तल्लो भागमा सुन्तला तथा उपल्लो भेगमा चिया तथा अलैँचीखेतीको विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ। नमूना कृषि गाउँका लागि रेशमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ।

रेशमा खोर, भकारो तथा मलखात सुधार र तालीम कार्यक्रम, डाँले घाँस तथा उन्नत जातको घाँसको विस्तार कार्यक्रम, घाँसको बिरुवा खरीद तथा रोपण कार्यक्रम, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरिद तथा रोपण कार्यक्रम, उन्नत जातको बीउ बोका सामूहिकपालन कार्यक्रम, एकीकृत घर बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण कार्यक्रम, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण कार्यक्रम, महिलामैत्री औजार खरीद, गड्यौलाको मल उत्पादन कार्यक्रम, होर्डिङ बोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताए।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँलाई रेशको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकरीका अध्यक्ष यामबहादुर कार्कीले बताए।

बागलुङ जिल्लामा चार वटा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको कार्यक्रम सञ्चालित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। रेश गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल गाउँ नमूना कृषि गाउँ छनोट गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad