त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमासहित ६ जना प्राध्यापकहरूले आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालकहरूसँग आग्रह गरेका छन्।
आइतबार एक अपिल प्रकाशित गरी केदारभक्त माथेमा, प्राडा सुरेश राज शर्मा, प्राडा अर्जुन कार्की, प्राडा मदन प्रसाद उपाध्याय, डा गुणराज लोहनी र प्राडा जगदीश प्रसाद अग्रवालले यस्तो अपिल गरेका हुन्।
‘नेपाल सरकारले औपचारिक निर्णय गरेर तोकिदिएको निर्वाह भत्ता निजी मेडिकल कलेजले समेत पालना गर्नैपर्छ भन्ने माग राखेर हाल स्नातकोत्तर तहको तालिममा रहेका चिकित्सकहरुको चिकित्सक संघ समेतको संलग्नतामा आन्दोलन भैरहेको छ र यसवाट स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवा अवरुध्द भएकोले आम सर्वसाधारण नेपाली नागरिकहरु पीडित हुन पुगेका’ उनीहरूले बताएका छन्।
‘यस्तो गम्भीर परिस्थितिमा निजी मेडिकल कलेज सञ्चालकहरुले मुनाफा आर्जन गर्ने अभिलाषाभन्दा माथि उठेर स्नातकोत्तर तहका प्रशिक्षार्थी चिकित्सकहरुलाई निर्वाह भत्ता दिने विश्वव्यापी प्रचलनलाई स्वीकारेर विद्यमान संकटको अन्त्य गर्नेतर्फ लाग्नु श्रेयकर हुनेछ’ अपिलमा भनिएको छ, ‘प्रशिक्षार्थी चिकित्सकहरुको बौद्धिक श्रम शोषण कुनै पनि दृष्टिकोणले स्वीकार्य हुन सक्दैन। स्नातक तहको सिट संख्या र शुल्क वृद्धि छुट्टै विषय भएको र निर्वाह भत्ताको विषयसँग जोड्ने शर्त राख्नु उपयुक्त नहुने हाम्रो धारणा छ।’
उनीहरूले चिकित्सकहरूको यो आन्दोलनको अन्त्यको लागी सकारात्मक भूमिका निभाउन सवै सरोकारवालाहरूलाई आग्रहसमेत गरेका छन्।
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू आठौँ तहको सुविधासरह निर्वाह भत्ताको माग गर्दै केही दिनदेखि आन्दोलनरत छन्।
तर, मेडिकल कलेजले उनीहरूको सुनुवाइ गरेका छैनन्।
Shares

प्रतिक्रिया