तीन प्रकारका वायुको प्रभावको कारण यतिबेला देशभरको मौसम बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालादेशको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभावले हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ।
यतिबेला कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज देशभरका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
मेघगर्जन, चट्याङ र हावाहुरीसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले त्यसको असरबाट बच्नको लागि आवश्यक तयारी तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
हेर्नुहाेस् तीन दिनकाे माैसम पूर्वानुमान



Shares

प्रतिक्रिया