समाज


किट कलेजमा नेपाली छात्रा मृत भेटिएको बारे अनुसन्धान गरिरहेका छौँ: ओडिसा सरकार

परराष्ट्रमन्त्री राणा भन्छिन्: घटना छानबिन गर्न कूटनीतिक पहल थालिसकेका छौँ
किट कलेजमा नेपाली छात्रा मृत भेटिएको बारे अनुसन्धान गरिरहेका छौँ: ओडिसा सरकार

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार ८:४५, काठमाडौँ

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी- किट) कलेजको छात्रावासमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाबारे त्यहाँको राज्य सरकारले अनुसन्धान थालेको छ। 

ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा छ। 

ओडिसा सरकारको उक्त विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बी.टेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो।

विश्विविद्यालयका अधिकारीले घटनाबारे मृतकका आमाबुवालाई तत्काल जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसैबीच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबार बेलुकै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन्। 

परराष्ट्रमन्त्री डा राणाले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै भनेकी छन्,  ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहत बनाएको छ। प्रिसाको आत्माको चीर शान्तिको कामना गर्दै यस दु:खद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु। परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ।’

मृत भेटिएकी छात्रा प्रिसाको घर पर्साको वीरगन्ज हो। 

किट कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो। यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad