काठमाडौंप्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले आफ्नो साइट डेभलपर कम्पनी सिरान टेकले ‘माथिको दबाब’ भन्दै अनधिकृत रुपमा समाचार हटाएकाले त्यसको कानुनी उपचार खोजिने बताएका छन्।
मंगलबार साँझ काठमाडौंप्रेसले प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भएको दाबी गर्दै एक रिपोर्ट प्रकाशित गरेको थियो।
बुधबार बिहानैदेखि ‘माथिको दबाब छ’ भन्दै उक्त रिपोर्ट साइटबाट हटाउन पटक पटक डेभलपर कम्पनीबाट दबाब आएको र त्यसलाई अस्वीकार गरेपछि उनीहरूले नै अनधिकृत रुपमा हटाएको काठमाडौंप्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले बिहीबार जारी विज्ञप्तीमा जनाएका छन्।
काठमाडौंप्रेसको साइट लेभलपर सिरान टेक कम्पनी प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीको हो। जसले आफु र उपप्रधानमन्त्री पोखरेल तथा प्रमुख सल्लाहकार रिमालका छोराहरू स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कमिसन प्रकरणमा मुछिएको रिपोर्ट आएपछि साइटबाटै उक्त रिपोर्ट हटाएको विश्वकर्माले बताएका छन्।
बुधबार बिहान साढे ११ बजेतिर आफ्नो साइटबाट डेभलपरले अनधिकृत रुपमा रिपोर्ट हटाएको भन्दै विश्वकर्माले यसको कानुनी उपचार खोज्न विज्ञहरूसँग परामर्शमा गरिरहेको जनाएका छन्।
‘वेव डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला, हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं’, विश्वकर्माले भनेका छन्, ‘यस घटनामा कानुनी कदम चाल्न पनि हामीले विज्ञहरूसँग सल्लाह गरिरहेका छौं।’
नेपाल पत्रकार महासंघले बिहीबार नै विज्ञप्ती जारी गरी ‘राज्य सत्ताको आडमा काठमाडौंप्रेसमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’ भनेको छ।
‘राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ’ महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ।’
के भन्छ प्रधानमन्त्रीको सचिवालय?
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार रिमालले काठमाडौंप्रेसको रिपोर्टमा आफ्नो परिवारको नाम जाडिएकोमा आपत्ति जनाउँदै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन्।
‘काठमाडौप्रेस र त्यसका सञ्चालकलाई एउटा आग्रह– आरोप पुष्टि गर्नुस्। तपाईंहरूलाई म वा मैले समर्थन गरेको सरकार मन नपर्न सक्छ। तथ्य छ भने जे लेख्नु छ त्यो लेख्नुस्।चुनौती छ,’ रिमालले बुधबार नै ट्वीटमा भनेका छन्, ‘तर मेरो कामसँग कुनै पनि साईनो सम्बन्ध नभएका मेरा परिवारजनलाई टर्चर र अपमानित गर्ने काम किन गर्दै हुनुहुन्छ?’
तर रिमाल समाचारमा चित्त नबुझे त्यसमा असहमती जनाउने वा कानुनी उपचार खोज्ने बैधानिक बाटो हुँदैहुँदै त्यसरी अनधिकृत रुपमा किन हटाइयो भन्ने बारे केही बोलेका छैनन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार नेपालखबरसँग यो विषय ‘प्रधानमन्त्री कार्यालय अथवा सचिवालयसँग सम्बन्धित छैन’ भने।
‘हामीसँग असम्बन्धित विषयमा हामीले जवाफ दिने कुरा भएन,’ थापाले भने, ‘हामीले स्वास्थ्य संस्थाको सामग्री ल्याउने काम गर्दैनौं, हाम्रो क्षेत्रभित्रै पनि पर्दैन।’

प्रतिक्रिया