आतंकवादविरुद्ध काठमाडौँस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजले शुक्रबार आतंकवाद र अतिवादविरुद्ध प्रदर्शन गरेको हो।
शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ, सिन्धु जल सम्झौता निलम्बन गर्नु कति मानवीय छ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिकस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर उनीहरूले भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्।
यस्तै, पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्डसहित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको हो।
अप्रिल २२ को पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यो घटनामा एक नेपालीसहित २६ जनाको निधन भएको थियो।
यसपछिका दिनमा भारत र पाकिस्तानले एकअर्काविरुद्ध हमला गरेका खबर आइरहेका छन्।
















(तस्बिरहरू : न्युज एजेन्सी नेपाल)
Shares

प्रतिक्रिया