समाज


२५६९ औँ बुद्ध जयन्ती भोलि, लुम्बिनीमा भव्य कार्यक्रमको तयारी

२५६९ औँ बुद्ध जयन्ती भोलि, लुम्बिनीमा भव्य कार्यक्रमको तयारी

फाइल तस्बिर


रिया क्षेत्री
बैशाख २८, २०८२ आइतबार १३:८, काठमाडौँ

लुम्बिनी विकास कोषले २५६९ औँ बुद्ध जयन्ती तीन दिनसम्म मनाउने भएको छ। 

वुद्ध जयन्ती तथा लुम्बिनी दिवस- २०८२ विविध कार्यक्रमसहित तीन दिनसम्म धुमधामका साथ मनाउने निर्णय कोषले गरेको हो। 

वैशाख २८ देखि ३० गतेसम्म रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा आयोजना हुने विविध कार्यक्रममा विकास कोषले विदेशी अतिथि, कूटनीतिक प्रतिनिधि तथा विभिन्न मुलुकका बौद्ध समुदायकोसमेत सहभागिता रहने जनाएको छ।

कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्ध जयन्ती राष्ट्रिय गौरवको इतिहास बोकेको उत्सव भएकोले यसलाई ऐतिहसिक उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए।

दिवसका अनसरमा वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष कार्यक्रम हुनेछन्। 

वुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना शुक्ल पूर्णिमाका दिन परेकाले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ। 

लुम्बिनीबाट विश्वलाई शान्तिको सन्देश फैलाउन लुम्बिनी विकास कोषले यो वर्षको बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय सहभागिता, धार्मिक चेतना, संस्कृति संरक्षण, र शान्तिको सन्देश प्रवाह गर्ने अवसरको रूपमा उपयोग गर्ने तयारी गरेको उपाध्यक्ष लामाले बताए।

‘हामी दिवसलाई भव्य उत्सवमार्फत लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई विश्वसमक्ष थप सशक्त ढंगले प्रस्तुत गर्नेछौँ,’ उनले भने। 

५६९ सदस्यीय मूल आयोजक समिति गठन
कार्यक्रम सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। 

त्यसबाहेक विभिन्न व्यवस्थापनका लागि थुप्रै उपसमिति पनि गठन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए। त्यसैगरि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार(प्रसार, सुरक्षा, आवास तथा यातायात, भोजन व्यवस्थापन, शोभायात्रा, सरसफाइ, देवदह(रामग्राम समन्वय लगायतका उपसमितिहरू गठन गरिएका छन्। 

प्रधानमन्त्री ओली प्रमुख आतिथि रहने
वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ। 

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा बुद्ध जयन्ती समारोहलाई संबोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि तथा विदेशी पाहुनाहरूको सहभागिता रहने कोषले जनाएको छ।

कार्यक्रमको पहिलो दिन वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सुरु हुनेछ। दोस्रो दिन बिहान ६ बजे प्रार्थना सभा तथा ६ः३० बजे ५ नम्बर गेटबाट शोभायात्रा सुरु हुनेछ। 

यसैगरी, रामग्राम, तिलौराकोट, देवदह र कुदानलगायत क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरू सञ्चालन हुने कोषले जनाएको छ। सरसफाई अभियान, दीप प्रज्वलन, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, ध्यान सत्र, खेलकुद र प्रभातफेरी कार्यक्रम गर्ने तयारी कोषको छ। 

वैशाख ३० गते नवजात शिशु सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटसम्म पुर्‍याउने ऐतिहासिक शोभायात्रा आयोजना गरिनेछ। मायादेवी मार्ग हुँदै आयोजना गरिने यो यात्रा प्राचीन परिवेश झल्काउने गरी प्रस्तुत गरिने लामाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad