समाज


एआईजी आचार्यको अवकाश कुरेर एकैपटक ११ डीआईजी बढुवा गर्ने तयारी

२०७९ का एसएसपीलाई पेल्यो पछिल्लो ब्याचले
एआईजी आचार्यको अवकाश कुरेर एकैपटक ११ डीआईजी बढुवा गर्ने तयारी

अवकाश हुन लागेका एआईजी लालमणि आचार्य र २०८० का ७ एसएसपी


उजिर कार्की
बैशाख २९, २०८२ सोमबार २१:२, काठमाडौँ

सरकारले झण्डै दुई महिनादेखि रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा नगरी अझै एकजनाको अवकाश कुरिरहेको छ। गएको चैत ५ गतेदेखि नै डीआईजीको दरबन्दी रिक्त भए पनि बढुवा गरिएको छैन। 

आगामी जेठ ११ गते कार्य विभागका अतिरिक्त महानिरीक्षक लालमणि आचार्य अवकाश भएपछि रिक्त डीआईजीको संख्या ११ पुग्ने छ। त्यसपछि मात्रै डीआईजी बढुवा गर्ने सरकारको तयारी छ। 

आचार्यको स्थानमा हालका एक डीआईजी एआईजी बन्नेछन्। त्यससँगै ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने बाटो खुल्नेछ। 

हाल १० जना डीआईजीको दरबन्दी रिक्त भए पनि बढुवा गरिएको छैन। गत चैत ५ गते नै चारजना डीआईजी अनिवार्य अवकाशमा गएका थिए। त्यतिबेलै रिक्त भएका ६ जना एआईजीमा पनि पनि बढुवा गर्दा रिक्त डीआईजीको संख्या १० पुगेको छ। 

आवश्यक डीआईजी नहुँदा प्रहरी महानिरीक्षकको सचिवालयदेखि प्रदेश प्रहरी प्रमुख समेत खाली छन्। गतसाता सरकारले ७ जना डीआईजीलाई सरुवा गरको थियो। सरुवासँगै ६ वटा प्रदेशमा प्रहरी प्रमुख खटाइएको थियो। एआईजी बढुवासँगै सबै प्रदेश प्रहरी प्रमुखविहीन भएका थिए। 

तर कर्णाली प्रदेश भने अझै पनि एसएसपीको भरमा छ। त्यहाँ सरकारले डीआईजी पठाउन सकेको छैन। कर्णालीमा कार्यरत डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएपछि त्यहाँ एसएसपीले नै निमित्त प्रमुखको रुपमा काम गर्दै आएका छन्। 

यस्तै डीआईजीहरु भोलाबहादुर रावल, धु्रवबहादुर राउत र गणेश चन्द पनि चैत ५ गते अवकाश भएका थिए। चैत ५ गतेसम्ममा नै ४ जना डीआईजी रिक्त भइसकेको थियो। तर अघिल्लो साता ६ जना डीआईजी एआईजीमा बढुवा भएका थिए। डीआईजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी एआईजीमा बढुवा भएर पदस्थापन भइसकेका छन्। 

उनीहरुको स्थानमा पनि डीआईजी बढुवा गर्न बाँकी छ। अब लालमणिको अवकाशपछि उनको स्थानमा सिद्धिविक्रम शाहलाई एआईजी बनाउने सम्भावना छ। शाह विशेष ब्युरोका प्रमुख हुन्। उनी बढुवा भएसँगै बढुवा सिफारिस समितिले ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गर्न सक्नेछ। 

छुटेका टोलीलाई पेल्यो पछिल्लो ब्याचले 
डीआईजी बढुवामा ढिलो हुँदा अघिल्लो टोलीलाई पछिल्लो टोलीले पेल्दै लगेको छ। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट सुरुमा तीनदेखि चारजना मात्रै डीआईजीमा बढुवा गर्ने तयारी थियो। तर ११ जना डीआईजी बढुवा गर्दा पछिल्लो ब्याचबाट झण्डै आधा संख्यामा बढुवा हुने सम्भावना देखिएको छ। 

डीआईजी बढुवामा एसएसपीका दुई ब्याच मुख्य प्रतिस्पर्धामा छन्। २०७९ मा एसएसपीमा बढुवा भएका र २०८० मा एसएसपी भएका टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीबाट मिलाएर बढुवा गर्ने तयारीले प्रतिस्पर्धा थप बढेको हो। 

यी दुई टोलीमा विभिन्न चरणमा भर्ना भएका एसएसपीहरु छन्। 

२०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका, २०५४ माघ २७ गते अनुसन्धान विभागमै भर्ना भएर पछि प्रहरीमा आएका र २०५४ चैत १८ गते भर्ना भएका प्रहरी निरीक्षकका ब्याचीहरु अहिले एसएसपी छन्। 

यस्तै, २०५५ कात्तिक १ गते भर्ना भएका र २०५६ असार ३ गते भर्ना भएका टोलीका एसएसपी मध्येबाट पनि झण्डै आधा संख्यामा डीआईजी बन्ने सम्भावना छ। 

२०५५ र २०५६ को टोलीबाट कम्तीमा ४ जनालाई डीआईजीमा बढुवा गर्ने तयारी छ। यो टोलीभित्रै वरीयतामा समेत चर्को प्रतिस्पर्धाले बढुवालाई सकस बनाएको छ। 

यो टोलीबाट प्रहरी महानिरीक्षकसम्म बन्ने भएकाले वरीयतामा कसलाई अगाडि बढाउने भन्नेमा प्रधानमन्त्री र गृहमन्त्रीको इच्छा बाझिएको छ। एसएसपी हुँदाकै वरीयता डीआईजीमा कायम हुने सम्भावना छैन।

एसएसपीको पहिलो नम्बरमा ओमबहादुर राना छन्। उनी यसअघि पनि विवादित भएकाले बढुवामा छुट्दै आएका थिए। 

राना २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर २०६४ पुस ३० गते डीएसपी, २०७४ साउन १९ गते एसपी र २०७९ साउन ३ गते एसएसपी भएका थिए। उनी २ वर्ष बढुवा रोक्कासहित ३ पटक कारबाहीमा परिसकेका छन्। उनलाई उछिनेर २०५४ को टोली एआईजी भइसक्दा पनि उनको भने डीआईजी नै अझै अनिश्चित छ। 

दोस्रो नम्बरमा रहेका माधव श्रेष्ठ पनि रानाकै ब्याची हुन्। उनी पनि रानासँगै डीएसपीदेखि एसएसपीसम्म बढुवा हुँदै आएका छन्। उनी अहिले दोस्रो नम्बरका एसएसपी हुन्। राना हाल अख्तियारमा र श्रेष्ठ बुटवल तालिम केन्द्रमा छन्। 

श्रेष्ठको भने डीआईजी बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

राष्ट्रिय अनुसन्धान विभागमा २०५५ जेठ ७ गते भर्ना भएका एसएसपी दीपेन्द्र घर्ती क्षेत्री पनि डीआईजीको प्रतिस्पर्धामा छन्। 

उनी २०६६ मा डीएसपी, २०७४ मा एसपी र २०७८ मा एसएसपीमा बढुवा भएका थिए। हाल मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख उनी पनि यसपटक डीआईजी बन्ने सम्भावना छ।

चौथो नम्बरका एसएसपी दीपक रेग्मी पनि एक महिलासँगको अश्लील अडिओ प्रकरणले यसपटक डीआईजीमा छुट्ने सम्भावना छ। 

त्यसपछि छन् दिलिपसिंह देउवा। उनी राष्ट्रिय अनुसन्धानको २०५३ पुस ५ गतेको टोलीका हुन्। देउवा पनि ५ पटक विभागीय कारबाहीमा परिसकेका छन्। यसपटक पनि उनको बढुवाको सम्भावना कमजोर छ। तर उनी कांग्रेस नेताको पहुँचमा बढुवा हुन खोजिरहेका छन्। 

एसएसपी विनोद घिमिरे २०५४ माघ २७ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका हुन्। हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका घिमिरे पनि यसपटक डीआईजी बन्ने सम्भावना छ। 

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी सुदर्शन कोइराला पनि डीआईजी बन्ने लाइनमा छन्। उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

२०५४ माघ २८ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका दीपककुमार बस्नेत र जयराज सापकोटाको सम्भावना कमजोर छ। सापकोटा भने यसअघि चारपटक विभागीय कारबाहीमा परेका अधिकारी हुन्। राष्ट्रिय अनुसन्धान विभागबाटै आएका सुरेन्द्रबहादुर गुरुङ र सञ्जीव शर्मा दास पनि अहिले डीआईजी बन्ने दौडमा छन्। 

दास हाल दिल्ली राजदूतावासमा रहेकाले उनको सम्भावना केही बढी छ। दास २०५२ कात्तिक १३ गते नै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। उनको सेवा अवधि नै केही महिना मात्रै बाँकी छ। 

२०५५ जेठ २० गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा आएका र यो टोलीसँगै एसएसपी बनेका शारदाप्रसाद चौधरी पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर उनको पनि सम्भावना कमजोर छ। 

बढुवामा अप्ठेरो पार्दै ०८० को टोली
२०८० सालमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएको टोलीले डीआईजी बढुवामा अप्ठेरो पार्ने देखिएको छ। २०७९ का एसएसपीहरुलाई डीआईजीमा वरीयताको पनि खासै मतलब छैन। तर आफ्नो ब्याचबाट नेतृत्वसम्म पुग्ने भएकाले २०८० का एसएसपीहरु भने वरीयताका लागि पनि चर्को लबिइङमा छन्। 

यो टोलीबाट काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसहित भूपेन्द्र खत्री, सोमेन्द्र सिंह राठौर र सानुराम भट्टराई वरीयतामा अगाडि आउन कसरतमा छन्। 

काठमाडौँ प्रहरी प्रमुख समेत रहेका विश्वराज अधिकारीको डीआईजीमा बढुवा हुने बलियो सम्भावना छ। उनी २०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा थिए। केही महिनाअघि मात्रै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका अधिकारी यसपटक डीआईजी बन्ने सम्भावना बलियो छ। उनी २०५५ कात्तिक १ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। भर्ना पहिले भए पनि उनी २०५६ को टोलीसँगै डीएसपीदेखि एसएसपीसम्म बढुवामा परेका छन्। 

२०५६ असार ३ गते भर्ना भएको टोली यसपटक सिनियर टोलीलाई उछिनेर आफ्नो ब्याचबाट प्रहरी नेतृत्वमा पुग्नेगरी अघि बढ्दैछ। यो टोलीबाट भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई र सोमेन्द्र सिंह राठौरको सम्भावना बलियो देखिएको छ। 

यही टोलीका एसएसपीहरु ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले पनि डीआईजीका लागि लबिइङमा छन्। एसएसपी वरीयतामा पछाडि रहे पनि यही टोलीकी तारादेवी थापा यसैपटक डीआईजी बन्ने सम्भावना छ। 

यस्तै २०८० मंसिर ४ गते एसएसपी भएका मुकुन्द मरासिनी, दीपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, प्रज्ज्वल महर्जन र रमेशकुमार बस्नेत पनि यही टोलीका हुन्। बस्नेतलाई भने त्यतिबेला एसएसपीमा छुटाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad