समाज


कोरोना संक्रमित वृद्धालाई लिन जाने भनेपछि एम्बुलेन्सका चालक नै भागे

कोरोना संक्रमित वृद्धालाई लिन जाने भनेपछि एम्बुलेन्सका चालक नै भागे

खेमराज गौतम
चैत २१, २०७६ शुक्रबार ८:१८,

बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए।

साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारिक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आउनुभएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो। जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६ गते भएको निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स कोरोनाका भाइरसका बिरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको थियो।

कोरोना संक्रमित ती वृद्धाको घर बागलुङ बजार नजिकै भएका कारण अस्पताल ल्याउनमा कुनै समस्या थिएन। तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि। पोख्रेलको नेतृत्वले कोरोना भाइरसबाट सङ्क्रमित विरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालकले रेडक्रसले नियुक्ति पत्र नदिएको भन्दै आनाकानी गर्न थाले।

अस्पताल तथा स्वास्थ्य कार्यालयले यस्तो संकटको घडीमा सुरक्षा सामग्री लगाएर संक्रमित विरामी अस्पताल ल्याउनुपर्ने भनेपनि चालकले आलटाल गर्दै एम्बुलेन्स छोडेर भागेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए। ‘हामीले तयारी अवस्थामा राखेको एम्बुलेन्स चालकलाई सुरक्षित तरिकाले संक्रमित ल्याउन आग्रह ग¥यौं’, उनले भने, ‘हामीले अन्य तयारी गरिरहेको समयमा चालकले एम्बुलेन्स छोडेर फरार भयो।’

एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयको चालक र प्रमुख गुरौंले सोही एम्बुलेन्समा राखेर संक्रमित ती वृद्धालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. पोखरेलले जानकारी दिए। चालकको गैरजिम्मेवारीपनका कारण बिरामीलाई अस्पताल ल्याउन दुई घण्टा ढिलो समेत भएको थियो। प्रमुख गुरौंका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित राख्नका लागि एम्बुलेन्सलाई दुई भागमा विभाजन गरेको र पिपीइ लगाएर मात्र बिरामी ल्याउन आग्रह गर्दा पनि एम्बुलेन्स अस्पतालमै छोडेर चालक भागेका थिए।

एम्बुलेन्स चालकले असुरक्षा तथा नियुक्तिपत्र नभएको भन्दै भागेपछि पिपीइ लगाएर संक्रमित बिरामी बोक्न कुनै समस्या नहुने भन्ने सन्देश दिनका लागि आफू र आफ्नो चालक बिरामी लिन सङ्क्रमितको घरमै पुगेको गुरौंको भनाइ छ। चालकले पीपीइ लगाएर संक्रमित बिरामी बोक्न कुनै समस्या नहुने डा. पोखरेलको भनाइ छ। ‘अस्पतालमा निकै कम जनशक्तिमा पनि रातदिन उपचारमा खटिएका छौं’, उनले भने, ‘सुरक्षा सामग्री लगाएर बिरामी बोक्दा चालकलाई केही हुँदैन।’

धौलागिरी अञ्चल अस्पतालमा ती वृद्धासहित कोरोना भाइरसबाट संक्रमित दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। एम्बुलेन्स चालक बिरामी भएका कारण अर्को चालकलाई अस्थायी रुपमा काममा लगाइएकाले बिरामी बोक्न अस्वीकार गरेको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले जानकारी दिए। लामिछानेले आफूले चालकलाई सुरक्षा सामग्री तथा तालिमको व्यवस्था गर्न आग्रह गरे पनि सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाए।

संकटको घडीमा चालकले सुरक्षा सामग्रीसहित एम्बुलेन्स सञ्चालन नगरी भाग्दा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स थन्किने अवस्थामा पुगेको छ। तयारी अवस्थाको एम्बुलेन्स थन्किदा अन्य कोरोना भाइरसका संक्रमित फेला परेमा अस्पताल ल्याउन झनै समस्या हुने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad