समाज


रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा

रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा

नेपालखबर
जेठ ४, २०८२ आइतबार ११:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको छ। 

आज आइतबार पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै पारिएको हो। 

तर उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन्। 

यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन। 

यो निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो। हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन्। 

वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन्। 

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ।

उनीहरू दुवै जना रुपन्देही कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविलाई भने एक करोड धरौटीमा रिहा गरेको थियो। 

तर उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो। उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो।

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले गरेका छन्।

यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। यी सबै निवेदन साथै राखेर पेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad