समाज


स्थानीय संक्रमणसँगै नेपालको कोरोना संक्रमण दोस्रो चरणमा: डा. कार्की

स्थानीय संक्रमणसँगै नेपालको कोरोना संक्रमण दोस्रो चरणमा: डा. कार्की

नेपालखबर
चैत २२, २०७६ शनिबार ८:२,

अहिलेसम्म विदेशबाट आएका नेपालीमा मात्रै कोरोना संक्रमण भेटिएकोमा शनिबार पहिलोपटक एक स्थानीय महिलामा संक्रमण भएको भेटिएको छ।

 भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ।

धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘कैलालीका ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाइरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरस्थित घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा जगदीश जोशीले बताए। डा जाेशीका अनुसार हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले पहिलो पटक स्थानीयमा देखिएसँगै नेपालमा कोरोना संक्रमण देस्रो चरणमा प्रवेश गरेको बताए।

याे पनि : कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

यसअघि संक्रमण देखिएका सबैजना विदेशबाट आएका थिए। यो नै नेपालभित्रै रहेकामा देखिएको पहिलो कोरोना संक्रमण हो।

‘धनगढीमा भेटिएका संक्रमितकी भाउजूलाई पनि संक्रमण भएको भेटिएको छ’, डा. कार्कीले नेपालखबरसँग भने, ‘यो पहिलो स्थानीय संक्रमण हो, यो सँगै हामी दोस्रो चरणको संक्रमणमा प्रवेश गर्यौं।’

उनले पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएसँगै थप सतर्क बन्नुपर्ने अवस्था आएको बताए।

विज्ञहरूका अनुसार विदेशबाट आएकालाई मात्रै संक्रमण भेटिँदासम्म त्यसले महामारीको रुप लिने संभावना कम हुन्छ। तर स्थानीयलाई भेटिनु भनेको समुदायस्तरमा भाइरस सरेको संकेत हो। त्यसैले यसलाई दोसे चरणमा प्रवेश गरेको भनिएको हो।

कैलाली र कञ्चनपुरमा मात्रै चार जनालाई कोरोनाको संक्रमण भएको भेटिएपछि अहिले खासगरी सुदुरपश्चिम प्रदेश बढी आक्रान्त हुने संकेत देखिएको छ।  

‘अब अझ बढी सतर्क हुनुपर्ने भो’, कार्कीले भने, ‘अब यो हप्ता धेरै निर्णयक हुन्छ।’ 

शनिबार पुष्टि भएका तीन जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलो संक्रमित चीनको वुहानबाट आएका एक युवक भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

चैत ४ गते कतार एयरवेजबाट आएका ३ महिला र युएईबाट फर्केका २ युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु विभिन्न अस्पतालमा उपचाररत छन्।

याे पनि : 
स्थानीय संक्रमण सुरु भएसँगै क्वारेन्टिन अझ अनिवार्य भयो: स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad