पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ। सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार आज बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो।
गत आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएका थिए। उनका अनुसार केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने दुई वटा घाइते भएका छन्। सडक वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुका लागि असुरक्षित बनेको छ।
सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारेपछि वन्यजन्तुलाई सडक पार गर्न जोखिम भएको खनालले बताए। खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको बताए। रासस
Shares

प्रतिक्रिया