समाज


अख्तियारको निष्कर्ष : तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च तह’बाटै सञ्चालित छ

अख्तियारको निष्कर्ष : तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च तह’बाटै सञ्चालित छ

सन्तोष अधिकारी
जेठ ८, २०८२ बिहिबार २१:१७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको संगठित जालो उच्च तहबाटै सञ्चालित रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

अख्तियारले हिजो (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएको थियो। 

उनीहरूसँगको प्रारम्भिक बयानपछि अख्तियारले यस किसिमको धन्दाको संगठित जालो उच्च तहबाटै सञ्चालित भएको निष्कर्ष निकालेको हो। वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी र सरकारी कर्मचारीको मिलेमतोमा गिरोह सञ्चालनमा रहेकोले ती सबै पक्ष र आयामहरूमा अनुसन्धान भइरहेको अख्तियारका एक अधिकारीले नेपालखबरसँग बताए। 

‘यसमा ठूलो जालो देखियो, यो (तीर्थराज) एउटा प्यादा मात्रै हो,’ अनुसन्धानमा संलग्न अधिकारीले नेपालखबरसँग भने, ‘यसमा ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी र सरकारी कर्मचारीको ठूलो गिरोहले काम गरेको खुलेको छ। संलग्न देखिएकाहरूलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ।’

ती अधिकारीका अनुसार, हिजो अख्तियारले नियन्त्रणमा लिएर रातिसम्म सोधपुछ गरेर छाडेको थियो र आज पनि बोलाएर बयान लिएको थियो। मोलबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइएको छ। प्रयोगशालाबाट प्रतिवेदन आएपछि फेरि बोलाएर बयान तथा प्रमाण बुझ्ने काम गरिनेछ।

अख्तियारले भिजिट भिसामा विभिन्न श्रम गन्तव्यमा नेपाली युवालाई पठाउने र गैरकानुनी रूपमा श्रममा लगाउने गिरोहबारे थप प्रमाण संकलनको काम भइरहेको पनि बताएको छ। ती अधिकारीले भने, ‘यसबारे अन्य प्रमाण संकलनको काम भइरहेको छ। विभिन्न सम्बन्धित निकाय तथा संस्थाहरूबाट कागजात र अभिलेख विवरण झिकाइएको छ।’

अख्तियारले सहसचिव भट्टराईसहितका कर्मचारी गिरोहका मतियार मात्र रहेको र यो उच्च तहबाटै सञ्चालित रहेको निष्कर्ष निकालेर अनुसन्धान सुरु भएको जनाएको छ। नेपाली श्रमिक विदेश जाँदा गर्नुपर्ने प्रक्रिया सबै छलेर अवैध रूपमा रकम असुल गर्दै भिजिट भिसामा गन्तव्य मुलुक पठाइरहेको र त्यो रकम माथिल्लो तहमा कहाँसम्म पुग्थ्यो भन्ने सुराक पनि पाइसकेको आयोगका अधिकारीहरूको भनाइ छ।

‘वैदेशिक रोजगार व्यवसायीले गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट श्रमिकको माग प्रमाणीकरण गरेर नेपालबाट श्रमस्वीकृति गराएर मात्र पठाउनुपर्नेमा यो प्रक्रिया छलेर भिजिट भिसामा श्रमिक पठाउने गरेको पाइयो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘एकातिर श्रमिक जोखिममा पर्ने भए। अर्कातिर राजस्व पनि गुम्ने भयो। यहाँ मानव तस्करीको मात्र विषय नभई ठूलो राजस्व हानिको पनि आयो। यहीअनुसार अनुसन्धान भइरहेको छ।’

खाडी, युरोपलगायत विभिन्न मुलुकमा भिजिट भिसामा श्रमिक पठाउँदा फरक-फरक दर राखेर रकम उठाउने गरेको र त्यो रकम विभिन्न तहमा संगठित रूपमै बाँडीचुँडी गर्ने गरेको पाइएको अख्तियार स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न ती अधिकारीका अनुसार, खाडी मुलुकमा जानेसँग प्रतिव्यक्ति ५० हजार र युरोपेली देश जानेसँग ३ लाख रुपैयाँसम्म उठाउने गरेको भेटिएको छ। यसरी उठाइएको रकम उच्च राजनीतिक र प्रशासनिक तहमा पुग्ने गरेको भए पनि अहिले नै सबै कुरा सार्वजनिक गर्न नमिल्ने ती अधिकारीले बताए।

‘पूरा विवरण त अनुसन्धान सकिएपछि मात्र प्राप्त होला,’ ती अधिकारीले भने, ‘तर, अहिलेसम्म जति सूचना र तथ्यहरू प्राप्त भएका छन्, ती निकै डरलाग्दा छन्। शक्तिशाली पदाधिकारीको पहुँच प्रयोग गरेर सेटिङमै अध्यागमनमा जाने रहेछन्।’   

२०७२ सालको महाभूकम्पका बेला यिनै तीर्थराज काठमाडौँ जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी (एलडीओ) थिए। त्यतिखेर घरवास गुमाएका पीडितलाई बाँडिने त्रिपालमा समेत घोटाला गरेको पाइएपछि अख्तियारले उनीसहित ६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले ‘कम गुणस्तरका त्रिपाल यिनै प्रतिवादीले वितरण गरे भन्ने पुष्टि हुन नसकेको’ र ‘विषम परिस्थितिमा गुणस्तर परीक्षण नगरी त्रिपाल आपूर्ति गरिएको कुरालाई भ्रष्टाचार ठहर्‍याउन नमिलेको’ भन्दै सफाइ दिएको थियो। 

२०७२ माघ १९ मा दायर मुद्दामा विशेषले २०७४ चैत ४ गते सफाइ दिएपछि तीर्थराजको तत्कालै निलम्बन फुकुवा भएको थियो। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भने गत असोज २३ देखि कार्यरत थिए। गृहमन्त्री रमेश लेखकले उनलाई त्यहाँ पठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad