समाज


तिनाउ खोलामा डुबेर बेपत्ता भारतीय युवक मृत फेला

तिनाउ खोलामा डुबेर बेपत्ता भारतीय युवक मृत फेला

फाइल फोटो


नेपालखबर
जेठ ९, २०८२ शुक्रबार २१:५७, पाल्पा

यहाँको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन्। बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन्।

नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताए। ‘अन्सारी चार जना साथीहरूसँग घुम्न आएका थिए। साथीहरू भने सकुशल छन्’, उनले भने।

गत वैशाख र यही जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उनको भनाइ छ। हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रउ भट्टराईले बताए।

यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो। उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन्।

खोला किनार तथा सम्भावित जोखिम भएका क्षेत्रमा जाँदा सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय, आगन्तुक तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ। पछिल्ला केही दिनयता भारत, रुपन्देहीलगायत तराईका जिल्लाबाट गर्मी छल्न तिनाउखोलामा पौडी खेल्न पुग्नेको सङ्ख्या बढ्दै गएकाले उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad