समाज


काठमाडौँसहित देशका यी ७ ठाउँमा गएराति भारी वर्षा, कहाँ कति पर्‍यो पानी?

काठमाडौँसहित देशका यी ७ ठाउँमा गएराति भारी वर्षा, कहाँ कति पर्‍यो पानी?

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १०:५७, काठमाडौँ

काठमाडौँसहित देशका आधा दर्जनभन्दा धेरै स्थानमा गएराति भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँको पानीपोखरी मापन केन्द्रमा गएराति ७७.४ मिलिमिटर वर्षा मापन भएको छ।

त्यसैगरि काठमाडौँकै कीर्तिपुरमा ४०.८, बबरमहल ४८.८, धापड्याममा ४६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएकाे छ। छाेटाे समयमा ठूलाे वर्षा हुँदा काठमाडाैँका केही ठाउँ डुबानमासमे परेका छन्। पुतलीसडक क्षेत्रका धेरै घरमा गएराति भेल छिरेकाे छ।  

त्यसैगरि देशका अन्य आधा दर्जनभन्दा धेरै ठाउँमा पनि गएराति भारी वर्षा भएको पुडासैनीले बताए। 

गएराति म्याग्दीमा ८७.४, कास्कीको लुम्लेमा ६१.६, लमजुडमा ५७.४, दाड ७०, अर्घाखाँची ६३.६, सिन्धुपाल्चोकमा ७२.६ मिलिमिटर वर्षा भएको छ। 

यसबाहेक गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। 

पूर्वको झापा, इलाम, सुनसरी, मोरङसहितका धेरै जिल्लामा गएराति वर्षा भएको छ। 

आज पनि गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ। दिउँसोपख काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावनासमेत रहेको पुडासैनीले बताए। 

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ। 

आज गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ। बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। 

आज बिहान गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। 

आज कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।  

देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा आज हल्का वर्षासँगै हिमपातकोसमेत सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान पनि महाशाखाले गरेको छ। 

वर्षा, चट्याङसहितबाट अवस्थाबाट उत्पन्न हुनसक्ने असरबाट बच्नको लागि आवश्यक तयारी तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

महाशाखका मौसमविद् पुडासैनीका अनुसार नेपाल अहिले मनसुनी वर्षाको पूर्वसन्ध्यामा छ। अबको एकदुई दिनभित्रमै नेपालमा मनसुन प्रवेश गर्ने अनुमान महाशाखाको छ। 

‘हामी मनसुन प्रवेशको मोनिटरिङ गरिरहेका छौँ,’ पुडासैनीले नेपालखबरसँग भने, ‘अहिले धेरैतिर वर्षा भइरहेको छ। वर्षा हुने क्रम पनि बढेको छ। मनसुन प्रवेशको घोषणा गर्न केही मापदण्ड पूरा हुनुपर्छ। हामी त्यसको मोनिटरिङमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad