हाल कोसी प्रदेशका धेरैजसो स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
जसका कारण यतिबेला (शुक्रबार साँझ) कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी राति कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि कोसी प्रदेशकै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति कुन प्रदेशमा कस्तो छ वर्षाको सम्भावना? विस्तृत विवरण तल:

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया