समाज


विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन सशस्त्रलाई गृहमन्त्रीको निर्देशन

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन सशस्त्रलाई गृहमन्त्रीको निर्देशन

नेपालखबर
जेठ १९, २०८२ सोमबार १७:३६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन्। सोमबार सशस्त्र प्रहरी बल नेपालद्वारा विपद् पूर्वतयारीबारे ब्रिफिङ लिनुहुँदै गृहमन्त्री लेखकले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन्।  

विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिए। 

‘मनसुनजन्य विपद्को तयारीमा आजैदेखि लाग्नुहोस्। पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनु होला। पूर्वसूचना अनुसार जोखिम कुन कुन ठाउँमा छ भन्ने अनुमान गर्न सकिन्छ,' उनले भने, 'त्यो बस्तीमा हामीले पूर्वसूचना दिनुपर्‍यो। मान्छेलाई उद्धार गरेर सुरक्षित ठाउँमा पुर्‍याउने गर्नुपर्‍यो।’ 

विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ। यस्तै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाए। 

गृहमन्त्री लेखकले राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताए। ‘त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्‍यो। कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ। यसले विपद् व्यवस्थापनमा चाडो काम गर्न सकिन्छ,’ उनले भने। 

मनसुनजन्य विपद्का खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागू गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। यो वर्ष विगतको भन्दा बढी मनसुन हुने अनुमान गरिएको भन्दै बाढी-पहिरोले निम्त्याउने खतराको पूर्वतयारी थाल्नुपर्ने उनले भने। 

‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो यो कमजोरी भयो भन्ने अवस्था आउनु भएन। चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्‍यो,’ उनले भने। 

छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृतमा ब्रिफिङ गरेको थियो। साथै भर्चुल माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरुले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad