संस्कार नभएको बच्चा!
मैले भए त भ्यागुता पछारेको जस्तै पछारिदिन्थेँ!
कस्तो ज्याद्रो बच्चा!
प्रारम्भिक बाल्यावस्थाका बालबालिकाले आक्रोशित व्यवहार देखाएको भिडिओ सामाजिक संसञ्जालमा सार्वजनिक भएपछि ती बालबालिकालाई त्यहाँ यसरी गाली गर्ने गरिन्छ।
बालबालिका बेस्सरी रोएको, शिक्षकसँग झगडा गरेको, शिक्षकको कपाल लुछेको भिडिओ कतिपय शिक्षकले बनाउने र सामाजिक सञ्सञ्जालमा पोस्ट गर्ने लहर चलेको छ। कतै कुनै एक ठाउँमा शिक्षकले यस्तो भिडिओ हालेपछि उस्तै प्रकृतिको भिडिओ अन्त पनि बनाउने र पोस्ट गर्ने गरेका छन्।
अबोध बालबालिकाले आक्रोश, अप्रसन्नता, असन्तुष्टि, दिग्दारी जस्ता भावना किन व्यक्त गर्छन् र यस्तो बेला कसरी उनीहरूलाई शान्त बनाउन सकिन्छ भनेर शिक्षक र विद्यालय संवेदनशील हुनुपर्नेमा उनीहरूलाई मजाक वा हाँसोको पात्र बनाउन थालिएको छ। उनीहरूमा पछि कुनै असर पर्न सक्छ कि भन्नेमा विद्यालय सचेत भएको पाइँदैन।
‘उनीहरूले आफ्नो भावना कसरी सही तरिकाले व्यक्त गर्ने भनेर जानेका हुँदैनन्। आमाबुबासँग छुटिनुपर्दा वा स्कुलको नयाँ वातावरणका कारण उनीहरू आक्रोश व्यक्त गरिरहेका हुन सक्छन्। बच्चाले किन त्यस्तो व्यवहार देखाउँदैछ भन्ने बुझेर आन्तरिक व्यवस्थापन गर्नुपर्नेमा उसको भावनालाई सार्वजनिक गर्ने शिक्षकले बालमनोविज्ञान बुझेका छैनन्,’ मनोविज्ञ डा गंगा पाठक भन्छिन्, ‘अहिले शिक्षकको कपाल भुत्ल्याएको भिडिओ पछि त्यो बच्चा अलि ठूलो भएपछि हेर्दा उसलाई कस्तो लाग्छ? म त कस्तो खराब रहेछु भन्ने पर्छ। आफ्नो इमेज नै उसले त्यस्तो बनाउन सक्छ।’
विद्यालयमा फरकफरक पारिवारिक पृष्ठभूमि र मानसिक अवस्थाका बालबालिका आउँछन्। उनीहरूलाई हेर्नु, सिकाउनु शिक्षकका लागि निश्चय नै चुनौतीपूर्ण छ। तर बालबालिकाको रोदन, आक्रोश वा दिग्दारी प्रकट गरिएका कतिपय भिडिओ भ्युजका लागि हालेको भनेर आलोचना हुने गरेको छ। अभिभावकको अनुमतिबिना बनाएर पोस्ट गरिने भिडिओका कारण भोलि शिक्षक र अभिभावकबीच द्वन्द्वको अवस्था पनि आउन सक्छ। यसप्रति विद्यालय र शिक्षक गम्भीर भएको देखिँदैन।

डा पाठक भन्छिन्, ‘आफ्नो काम गाह्रो र चुनौतीपूर्ण छ भन्ने देखाउन पनि पोस्ट गरिएको पाइन्छ। उहाँहरूको काम सजिलो छैन। हामीले बुझेका छौँ। बालमनोविज्ञान बुझेका शिक्षकले स्वस्थ तरिकाबाट काम गर्नुहुन्छ। अभिभावकसँग छलफल गर्नुहुन्छ। नबुझेकाले सामाजिक सञ्सञ्जालमा हाल्नुहुन्छ। कुनै भिडिओ हेर्दा त नियत नै खराब देखिन्छ। मनोरञ्जन लिएर बसेको देखिन्छ।’
डा पाठकका अनुसार बालबालिकाको व्यवहारलाई मनोविज्ञानको पाटोबाट नहेरी बदमास वा हिंस्रक स्वभावको बच्चा भनेर ट्याग लगाइदिँदा उनीहरूले आफूले आफैँलाई त्यस्तै ठान्छन् र त्यस्तै व्यवहार गर्न थाल्छन्।
‘र यसको असर जीवनभर पर्न सक्छ। किशोरावस्थाका विद्यार्थी र प्रौढहरू परामर्शमा आउँछन्। उनीहरूको समस्या केलाउँदै जाँदा बाल्यावस्थाको नकारात्मक भोगाइ नै मुख्य कारण हुन्छ। मनोवैज्ञानिक असर तत्काल देखिँदैन। बिस्तारै जम्मा हुन्छ र ज्वालामुखी जस्तै विस्फोट हुन्छ,’ उनले भनिन्।
उमेरअनुसार देखाउने व्यवहारलाई बुझ्न सकिएन भने पछि उनीहरूमा प्रतिशोधको भावना पैदा हुने उनी बताउँछिन्– ‘किशोरावस्थाका विद्यार्थीले कसैलाई पिटे भने उसलाई सस्पेन्ड गरिएको छ भनेर विद्यालयबाट सामाजिक सञ्सञ्जालमा राख्ने गरिएको पनि छ। एकथरी विद्यार्थी प्रतिशोध लिने अवस्थामा पुग्छ। ऊ भित्रभित्रै मानसिक रुपमा अस्वस्थ हुँदै जान्छ। अर्कोथरी म त खत्तम रहेछु भनेर भित्रभित्रै पिल्सिन्छ र डिप्रेसनमा जान सक्छ।’
बालबालिकाका भिडिओ सार्वजनिक भएपछि लाखौँसम्म एकैछिनमा पुग्छ। उनीहरूको कस्तो भिडिओ सामाजिक सञ्सञ्जालमा हाल्ने र कस्तो नहाल्ने भन्ने सम्बन्धमा अधिकांश विद्यालयमा कुनै नीति बनाएको पाइँदैन।
डा गंगा पाठक भन्छिन्, ‘बालबालिकाको भिडिओ सामाजिक सञ्सञ्जालमा पोस्ट गर्नुअघि धेरैपटक सोच्नुपर्छ। भिडिओका कारण उनीहरू आफैँले आफैँलाई खराब ठान्न सक्छन् कि, उनीहरूलाई भावनात्मक रुपमा चोट पुग्न र भविष्यमा हानि हुन सक्छ कि भन्ने दृष्टिकोणबाट विचार गर्नुपर्छ। विद्यालयले कस्ता भिडिओ सामाजिक सञ्सञ्जालमा पोस्ट गर्ने र के नगर्ने भन्ने संबन्धमा नीति बनाउन एकदम जरुरी छ।’
यस्ता नीति वा आचारसंहिता अभिभावकलाई पनि सजग र संलग्न गराएर बनाउनुपर्ने उनको सुझाव छ। थुप्रै अभिभावकहरू आफ्ना केटाकेटीको भिडिओ र फोटो सामाजिक सञ्सञ्जालमा पोस्ट गर्ने गर्छन्। कहिलेकाहीँ यस्ता सामग्रीका कारण पछि उनीहरू दुर्व्यवहारमा पर्न सक्छन्।
डा गंगा पाठक भन्छिन्, ‘एक आमाले आफनो बच्चाको सानो हुँदाको र अलि ठूलो भएपछिको भिडिओ राखिन्। सानो हुँदा चाहिँ उनको नांगो भिडिओ थियो। यो भिडिओ सामाजिक सञ्सञ्जालमा राखेपछि उसको साथीहरूले उसलाई लुगा खोल्न लगाएर अहिले के फरक छ भनेर दुर्व्यवहार गर्न खोजे।’
कतिपय अभिभावक आफ्ना केटाकेटीलाई अस्वाभाविक रुपमा प्रस्तुत गराइरहेका हुन्छन्। लाइक, कमेन्ट र भ्युजका लागि उमेरभन्दा फरक हाउभाउ गराएर नृत्य र अभिनय गराइरहेका हुन्छन्। आफ्ना केटाकेटी प्रतिभाशाली भनेर उनीहरू मख्ख परिरहेका हुन्छन्। गौरवान्वित हुन्छन्। बालबालिका पनि दंग हुन्छन्।
डा गंगा पाठक भन्छिन्, ‘भोलि ठूलो हुँदै गएपछि कमेन्ट, भ्युज कम आयो भने के गर्छन् उनीहरू? उनीहरूलाई त प्रशंसाको लत लागेको हुन्छ। रोगी हुन्छन् उनीहरू। उनीहरूलाई कठपुतली बनाएर अनावश्यक रुपमा सामाजिक सञ्सञ्जालमा एक्सपोज गर्नुहुन्न।’
डा पाठक अभिभावकले आफ्ना केटाकेटीले स्क्रिनमा मोबाइल, कम्प्युटरमा के हेरिरहेका छन् भनेर निगरानी गर्नु अत्यन्तै आवश्यक रहेको औंल्याउँछिन्। यसप्रति ध्यान नदिँदा बालबालिका जोखिमपूर्ण अवस्थामा पुगेको र यसप्रति अभिभावक सचेत हुनुपर्नेमा उनको विशेष जोड छ।
डा पाठक भन्छिन्, ‘आठ-नौ वर्षका केटाकेटीले अश्लील सामग्री हेरिरहेका छन्। उमेर नहुँदै उनीहरू विभिन्न सामग्री हेरिरहेका छन्। यसले उनीहरूलाई क्षति पुग्छ। नौ वर्षकी बालिकाले आफ्नो प्राइभेट पार्टमा ब्लेडले काटेर केटा साथीलाई फोटो पठाइन्। उसले आफूलाई ब्रेकअप दियो भनेर उनले त्यसो गरेकी रहिछन्।’
मनोविज्ञ डा गंगा पाठकसँग नेपालखबरले गरेको विस्तृत कुराकानी हेर्नुहोस् भिडिओमा:

प्रतिक्रिया