खेल


करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ०:०, काठमाडौँ

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको छ। 

सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित गर्दै सिरिजमा रोमाञ्चक जित हात पारेको हो।

लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालको लगातार दोस्रो जित हो। यसअघि गत अक्टोबर–नोभेम्बरमा अमेरिकाको डालासमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। 

दोस्रो खेल भने खराब मौसमका कारण रद्द भएको थियो। 

स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले १ बलअगावै ९ विकेटको  क्षतिमा भेट्टायो। 

नेपालका लागि करण केसीले सर्वाधिक ६५ रनको योगदान दिए। नेपालका लागि संकटमोचक बनेका करणले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रिजन ढकाल १ रनमा अविजित रहे।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १२ ओभरमा ७२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। 

ओपनर भुर्तेल ४४ बलमा ११ चौका सहयोगमा ५३ रन बनाउँदा ज्याक जार्भिसको बलमा बोल्ड आउट भए। आशिफ २० रन बनाउँदा जस्पर डेविटसनको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए। 

तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गरे। भीम ४० रन बनाउँदा ब्रान्डोन म्याकमुलेनको बलमा क्याच आउट हुँदै पेभेलियन फर्के। कप्तान रोहित पनि ३७ रन बनाउँदा म्याकमुलेनको बलमा नै क्याच आउट भए। 

दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट नै हुन पुगे। यी तीनै खेलाडीको विकेट ब्रान्डोनले लिएका थिए।

३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका गुल्सन झा ४२ रन बनाउँदा क्याच आउट भए। सन्दीप लामिछाने ५ र सोमपाल कामी १ रनमा क्याच आउट हुन पुगे। 

त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको योगफल तयार पारेको थियो। 

स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा करण केसीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

फिन्ले एमसी क्रेथले ६७ बलमा ३ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए। म्याथु क्रसले ३९ रन थपे। कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन थपे।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट झारे।

सिरिजको दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्डविरुद्ध खेल्नेछ।

लिग–२ मा नेपालले तेस्रो जित हात पारेको हो। जितसँगै नेपाल अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ।

लिगको १३ खेलमा नेपालले ३ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै ८ अंकमा तालिकाको सातौँ स्थानमा उक्लेको हो। ६ अंक भएको युएई आठौँ स्थानमा झरेको छ।

१७ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा छ। २० खेलबाट २६ अंक बनाएको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

सबै तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad