समाज


फतुवा विजयपुर नगरपालिकाका दुई कर्मचारी र तीन पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

फतुवा विजयपुर नगरपालिकाका दुई कर्मचारी र तीन पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २६, २०८२ सोमबार १५:१८, काठमाडौँ

रौतहटको फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह–लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई औषधी स्प्रे टंकी वितरणमा अनियमितता गरेको अख्तियारको आरोप छ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा कृषकहरूका लागि वितरण गर्न स्प्रे टंकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न मिति २०७८।१०।१८ गते जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरी मिति २०७८।१०।२० मा प्रकाशित भएको भनिएको बोलपत्र आह्वानको सूचना र तराई पोष्टमा मिति २०७८।११।२७ मा प्रकाशित भएको भनिएको बोलपत्र स्वीकृत भएको आशयको सूचना सम्बन्धमा प्रेश काउन्सिल नेपालको पत्रबाट उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक तथा तराई पोष्टमा प्रकाशन भएको नदेखिएको अख्तियारले जनाएको छ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह–लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादव समेतको बदनियतपूर्ण उद्देश्यले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुट्टा नक्कली पत्रिका तथा बिल भरपाई पेश गरी सूचना प्रकाशन गरे वापतको रकम लिने दिने कार्य गरेको एवं भुक्तानीको लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेतको कार्य गरेको अनुसन्धानमा खुलेको छ।

प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी नक्कली प्रति कार्यालयको अभिलेखमा राखी सो वापत कर कट्टी गरी रु १ लाख ७२ हजार ८२५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र वोलपत्र स्वीकृत भएको आशयको सूचना तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएको भनी नक्कली पत्रिकाको एक प्रति कार्यालयको अभिलेखमा राखी सोवापत ३९ हजार ४०० रुपैयाँ तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी दिएको पाइएको छ। 

सो कार्य गरी आफूहरुलाई गैरकानूनी लाभ र फतुवा विजयपुर नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न रहेका उपरोक्त व्यक्तिहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना समेत हुन मागदावी लिइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad