जयानी सुवेदी काठमाडौँको एक विद्यालयबाट यो वर्ष कक्षा १२ को परीक्षा दिएपछि अहिले एक संस्थामा काम गर्दैछिन्। उनको कार्यक्षेत्रमा उनले ग्राहकहरूसँग अन्तर्क्रिया गर्नुपर्छ। उनले विद्यालय तहमा विभिन्न विषय पढिन्। कति पाठ र विषयवस्तु सकीनसकी, जानीनजानी घोक्नुपर्यो।
‘तर एकदम महत्त्वपूर्ण छ भनेर घोकाइएका पाठहरू अहिले मेरो दैनिक जीवनमा प्रयोग नै भएको छैन। ती अनावश्यक कन्टेन्टले गर्दा प्रेसर मात्र भयो। विद्यालय तहमा पढेका धेरै कुरा मलाई अहिले याद नै छैन,’ उनले भनिन्, ‘आधारभूत पठन र लेखन सीप, आधारभूत गणितीय सीप र टाइपिङ सीप चाहिँ प्रयोग भइरहेको छ।’
जयानीलाई पाठ्यक्रममा जटिल विषयवस्तु अनावश्यक रूपमा राखिएको र सबै विद्यार्थीका लागि अनिवार्य गरिँदा गाह्रो हुन्छ भन्ने लाग्छ।
भन्छिन्, ‘कक्षा १० सम्म गणित विषय थियो। कति गाह्रो सूत्र घोक्नुपर्यो। ती कतै प्रयोग भएनन्। बैंकमा गएर खाता खोल्न आउँदैन। पैसा जम्मा गर्न आउँदैन। बचत र लगानी कसरी गर्ने भन्ने बारेमा थाहा छैन। बरु यस्ता कुरा सिकाइदिएको भए हुन्थ्यो।’
कक्षा ९ र १० मा पुगेपछि टुप्पी कसेर पढ्नुपर्ने–पढाइने तरिका उनलाई मन पर्दैन। विशेषगरी त्यस समयमा एकथरी विद्यार्थीहरूलाई जान्ने र स्मार्ट अनि अर्कोलाई पढाइमा कमजोर भनेर विभेद गरिने उनको अनुभव छ।
विज्ञान र गणित विषयमा कमजोर विद्यार्थीलाई चोट पुग्ने गरी व्यवहार गरिएको उनको भोगाइ छ। उनी यी दुवै विषयमा कमजोर थिइन्।
‘ए सेक्सनमा एकदमै जान्ने र स्मार्ट विद्यार्थी राखिन्थ्यो। बीमा ठीकै खाले राखिन्थ्यो र सीमा कमजोर विद्यार्थी राखिन्थ्यो। कमजोर विद्यार्थी भनेर लेबल लगाउँदा आत्मसम्मान गिर्छ। असुरक्षित महसुस हुन्छ। बेस्सरी चोट लाग्छ,’ उनले आफ्नो अनुभूति प्रकट गरिन्।

संगीत, कलालगायतका विभिन्न विधामा क्षमता भएका विद्यार्थीलाई उनीहरूको भविष्य राम्रो हुन सक्दैन भनेर निरत्साहित गर्ने गरिएको उनको गुनासो छ।
उनी भन्छिन्, ‘संगीतमा रुचि हुने साथीहरू थिए। एकजना गितार राम्रो बजाउँथ्यो। शिक्षकले उसको अभिभावकलाई तपाईंको बच्चा खलाँसी हुन्छ होला भन्नुभयो। शिक्षकको कुराले अभिभावकले पनि विद्यार्थीलाई प्रेसर दिन्छन्। केही गर्न सक्दिनँ होला भनेर विद्यार्थीको आत्मविश्वास गुम्छ। अर्को कुरा, अरुको कामलाई होच्याउनुहुँदैन।’
कमजोर विद्यार्थी भनेर लेबल लागिरहँदा उनले बक्सिङ सिक्ने विचार गरिन्। स्कुलका शिक्षकले कमजोर विद्यार्थी, भविष्य राम्रो छैन भनिरहेको सुन्दा दुखी भएकी जयानीले आदर्श शिक्षक बक्सिङ कोचमा पाइन्।
उनी भन्छिन्, ‘मेरो कोचले मलाई तिमी राम्ररी खेल्न सक्छौ भन्नुभयो। तिमीमा सम्भावना छ, क्षमता छ, तिमी केही न केही गर्न सक्छौ भन्नुभयो। त्यसपछि मेरो आत्मविश्वास बढ्न थाल्यो।’
त्यसपछि उनी खाली समयमा विभिन्न क्लबहरूमा जान थालिन्। उनको आत्मविश्वास बढ्दै गयो। सञ्चार सीप विकास हुन थाल्यो। जुन उनलाई अहिले आफ्नो काममा उपयोगी भएको छ।
उनको विश्लेषणमा सिंगो शिक्षा प्रणाली विद्यार्थीलाई परीक्षा दिन र पास गराउन मात्रै केन्द्रित भएको छ।
‘पाठ्यक्रममा जीवनमा प्रयोग नहुने विषयवस्तु राख्नुहुँदैन। सिकाइस्तरको आधारमा विभेद नगरी विद्यार्थीमा सम्भावना हुन्छ, उनीहरूको रुचि र क्षमता पहिचान गरी उनीहरूलाई अगाडि बढ्न मदत गर्नुपर्छ,’ उनी भन्छिन्, ‘हाम्रो शिक्षा प्रणालीले किताब घोकेर परीक्षा पास गर्न सिकायो। विद्यार्थीले आफैँ गरेर सिकेको सीपका आधारमा मूल्यांकन हुनुपर्छ। जस्तो फुटबलको बारेमा सैद्धान्तिक ज्ञान त हुन सक्छ। तर फिल्डमा गएर किक गरेर खेल्न जानेपछि मात्र प्रयोगात्मक ज्ञान हुन्छ।’
जयानी सुवेदीजस्तै सुयोग राई पनि व्यावहारिक तथा व्यावसायिक ज्ञानमा विशेष जोड दिन्छन्। धरानमा कक्षा १२ सम्म र काठमाडौँमा स्नातक तहको पढाइ पूरा गरेपछि उनले एक बैंकमा मानव संसाधन विभागमा काम गरे।
उनी भन्छन्, ‘कर्मचारी छनोटका क्रममा अन्तर्वार्ता लिँदा स्नातक अनि मास्टर्स गरेका विद्यार्थी हुन्थे। कतिको त ३.५,३.७ जीपीए हुन्थ्यो। तर उनीहरूसँग व्यावसायिक सीप हुँदैनथ्यो। अन्तर्वार्ताका बेला आत्तिने गर्थे। आफ्ना कुरा राम्ररी राख्न सक्दैनथे।’

यसको पछाडि विद्यालय तहदेखिको शिक्षा प्रणाली नै कारण रहेको उनको ठम्याइ छ। उनी सानैदेखि राम्रो रिजल्ट ल्याउँथे।
‘म कक्षा १० सम्म पहिलो हुन्थेँ। म रट्न सक्थेँ। परीक्षामा राम्रो गर्न सक्थेँ। तर म अरुसँग घुलमिल हुन सक्दिनथेँ। बोल्न सक्दिनथेँ,’ उनले भने।
जब उनी क्याम्पस पढ्न काठमाडौँ आए र स्नातक तह पढ्न थाले, त्यसपछि उनमा ठूलो परिवर्तन आयो। निर्धक्कसँग बोल्न नसक्ने उनी आफैँ सोधखोज गर्दै अनुसन्धान गर्दै प्रस्तुति गर्न थाले।
सुयोग भन्छन्, ‘म पढेको कलेजमा पढाउने सिकाउने तरिका नै फरक थियो। त्यो कलेज विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त एक कलेज भएकोले पनि हुन सक्छ’
गृहकार्यको भार, बिहान उठेर पनि गर्न भ्याइँदैन कि भन्ने तनावका कारण राति राम्ररी सुत्न नपाइने र परीक्षामा नतिजा राम्रो नआउला कि भन्ने त्रासले सानैदेखि मानसिक समस्या पैदा हुने उनको अनुभव छ। बाल्यकालमा सुरु भएको यो समस्याले पछिसम्म असर पार्ने हुँदा शिक्षा प्रणालीभित्र मानसिक स्वास्थ्यलाई पनि महत्त्व दिनुपर्ने उनको भनाइ छ।
सुयोग राई दुई वर्षअघि स्नातक तह पूरा गरी हाल मास्टर्स पढ्ने तरखरमा छन्। कक्षा १० पछि उनले व्यवस्थापन पढ्ने निधो गरे। तर १२ को अन्तिममा उनलाई यो विषय मेरो रुचिको होइन भन्ने लाग्यो।
उनी भन्छन्, ‘म त्यहाँबाट फर्किन सक्दिनथेँ। यस सम्बन्धमा विद्यालयमा नै राम्रो परामर्शको व्यवस्था हुनुपर्छ।’
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा व्यवस्थापन संकायअन्तर्गत एमबीएस पहिलो सेमेस्टरका विद्यार्थी भुवन ओझा विश्वविद्यालय जस्तो ठाउँमा पनि नोट पढाइएको देख्दा आजित भएका छन्।
उनी भन्छन्, ‘व्यावहारिक जीवनमा भोलि के आवश्यक छ भनेर सिकाउनुको सट्टा नोट पढाउने र स्लाइड देखाउने गरिन्छ। पुराना प्राध्यापकहरू हुनुहुन्छ। अहिलेको आवश्यकताअनुसार कसरी पढाउने हो भनेर समय समयमा उहाँहरूलाई अपडेटेड गराउनुपर्छ।’

आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन नहुँदा र सैद्धान्तिक ज्ञानमा आधारित परीक्षा प्रणालीका कारण विश्वविद्यालयमा पुग्दा समेत प्रयोगात्मक सिकाइ हुन नसकेको उनको ठम्याइ छ।
ओझा भन्छन्, ‘सरहरूले विद्यार्थीलाई असाइन्मेन्ट दिँदा विभिन्न क्षेत्रमा गएर खोजी गरेर अनुसन्धान गरेर ल्याउन लगाउनुपर्नेमा त्यही किताबकेन्द्रित हुन्छ। कतिले त जान्ने विद्यार्थीबाट सार्छन्। यसरी सिकाइ हुँदैन।’
शिक्षा प्रणाली सुधारका लागि धेरै छलफल तथा गोष्ठी हुने गर्छन्। तर त्यस्ता कार्यक्रममा विद्यार्थीलाई सहभागी गराइँदैन। उनीहरूबाट सुझाव लिनुपर्ने कुरालाई प्राथमिकतामा राखिँदैन। हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीले के सिके? के सिकाइएन र के सुधार आवश्यक छ?
हेर्नुहोस्, यसैबारे नेपालखबरले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीसँग गरेको कुराकानी :

प्रतिक्रिया