समाज


७६ दिनको कष्टबाट मुक्त भयो वुहान, एकै दिन ५५ हजार बाहिरिँदै

७६ दिनको कष्टबाट मुक्त भयो वुहान, एकै दिन ५५ हजार बाहिरिँदै

नेपालखबर
चैत २६, २०७६ बुधबार १०:२२,

मंगलबार राति गुओ लेई आफूसहित ७ जना चढेको कार चलाएर वुहानबाट निस्किँदै थिए।

छिमेकी सानदोङ प्रान्तका उनी वुहानमा व्यवसाय गरेर बसेको ८ वर्ष भयो। यस पटक नयाँ वर्षको छुट्टीमा उनले परिवारका सबै सदस्यलाई वुहानमै बोलाएका थिए।

तर, त्यही छेकामा वुहानमा कोरोना भाइरसको महामारी चल्यो। उनको पूरै परिवार त्यहीँ अड्कियो।

महामारीका बीच ७६ दिन लामो र संसारकै कठिनतम प्रतिबन्ध भोगेको मध्य चीनको वुहान सहरमा बुधबार मध्यरातदेखि लकडाउन समाप्त भयो। यहाँका एक करोड १० लाख मानिस चीनको अन्य भूभागमा जान स्वतन्त्र भए।

मानिसहरुको स्वास्थ्य अवस्था ट्रयाक गर्ने मोबाइल एपले ग्रिन सिग्नल दिएका यात्रु मात्रै सहर छाडेर जान सक्नेछन्।

त्यसैले गुओ पनि परिवारसहित घरतिर लागे।

‘निश्चय नै निकै कठिन थियो यो अवधि। यति ठूलो परिवार यहाँ रोकिएको थियो। भाग्यवश हामी सबै महामारीमा बाँच्न सफल भयौँ,’ उनले भने।

138957422_15863259882671n.jpg

बुधबारसम्ममा वुहान छाडेर ५५ हजार यात्रु बाहिर निस्किँदैछन्। तीमध्ये ४० प्रतिशत दक्षिणी चीनतर्फ जाने बताइएको छ। २ सय ७६ वटा रेल वुहान छाडेर सांघाई, सेनझेन र अन्य सहरतर्फ जाँदै छन्।

बुधबार बिहान ५:५३ बजे वुहान रेल्वे स्टेसनमा जी४३१ हर्न बजाउँदै पार्किङ लटबाट निस्कियो। बिहान ७:०६ बजे यो रेल छुट्यो। लकडाउन समाप्तिपछि अर्को प्रान्त जान लागेको यो पहिलो रेल थियो।

रेल हिँड्नुभन्दा एक घण्टाअघि स्टेसनमा एउटा समारोह आयोजना गरियो र रेलको ढोकामा लगाइएको सिल तोडियो। तीन जना यात्रुलाई बुके पनि दिइयो। गगल्स लगाएका परिचारकहरुले रेलको डिब्बालाई संक्रमणरहित बनाए।

‘दुई महिना घरमा कैद भएर बसेपछि यात्रामा निस्किँदा निकै खुसी लागेको छ,’ रेलका एक यात्री गुआन ताओले भने। यात्रुहरुबीच खाली सिट राख्न कम टिकट बेचिएको स्टेसनले जनाएको छ।

वुहान तिहानहे अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार सबेरैदेखि घरेलु उडान सुरु गरेको छ। आउनेजाने गरी बुधबार २ सयभन्दा बढी उडान हुने अपेक्षा गरिएको छ।

चालकदलका सदस्यले गगल्स, मास्क र ग्लोब्स लगाएका छन्। ज्वरो, खोकीजस्ता लक्षण देखिएकालाई परिचारकले मास्क दिने छन् भने त्यस्ता यात्रुको १४ दिनको समग्र विवरण राख्नेछन्।

138957422_15863259883251n.jpg

सामाजिक सञ्जालमा भाइरल भएको एउटा क्लिपमा एक विमानकी परिचारक यात्रुहरुलाई स्वागत गर्दै गर्दा रोएको दृश्य देख्न सकिन्छ।

‘हामीले निकै फरक खालको ७६ दिन बितायौँ। वुहान सँगसँगै लडेकोमा चीनभरका मानिसलाई धन्यवाद, हामी कृतज्ञ छौँ,’ भिडियोमा उनी भन्छिन्।

विमानस्थल पुगेका यात्रुमध्ये एक थिए चिङहाई प्रान्तका पर्यटक लियु स्या। लकडाउन सुरु भएदेखि नै उनी वुहानमा अड्किएका थिए।

एउटा होटलमा मैले भएजति पैसा सकेँ। मात्र चाउचाउ खाएर बाँचिरहेको थिएँ। स्थानीय प्रहरीले मलाई फेला पारे। जहाँ सित्तैँमा खान र बस्न पाइन्थ्यो,’ उनले भने, ‘आज पनि मलाई उनीहरुले नै यहाँसम्म ल्याइदिए।’

कोरोना भाइरसबाट हालसम्म चीनभर ८२ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३३ सय बढीले ज्यान गुमाए। त्यसमध्ये वुहानमा मात्रै ५० हजार बढी संक्रमित बनेका थिए भने २ हजार ५ सय ७२ को मृत्यु भएको थियो।

जनवरी २३ मा वुहानमा यसअघि कहिल्यै नगरिएको लकडाउन लागू गरिएको थियो। यो इतिहासकै कठोर लकडाउनमध्ये एक थियो। स्थानीय यातायात, बाहिरी यातायात ठप्प पारेर मानिसहरुलाई घरभित्रै बस्न लगाइएको थियो। मानिसहरुलाई घरबाट बाहिर निस्किन दिइएको थिएन। यही कारण वुहानमा भाइरस नियन्त्रण सफल भएको सरकारी अधिकारीहरु बताउँछन्।

त्यतिमात्र होइन, कोरोना विरुद्धको लडाइँमा वुहान अन्य मुलुकका लागि पनि उदाहरण बन्यो। पछिल्लो समय महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकले वुहानकै पाइला पछ्याएर लकडाउन घोषणा गरेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad