समाज


महिला न्यायाधीशले धानेको उच्च अदालतको हेटौँडा इजलास

सबै ६ न्यायाधीश अनि आधाभन्दा बढी कर्मचारी पनि महिला
महिला न्यायाधीशले धानेको उच्च अदालतको हेटौँडा इजलास

सुनिता विष्ट
असार ७, २०८२ शनिबार ८:४२, हेटौँडा

पछिल्लो समय सरकारी संरचना होस् या निजी क्षेत्र, विस्तारै नेतृत्व महिलाको हातमा जाँदै छ। शिक्षा, राजनीति, न्यायलगायत समाजका हरेक क्षेत्रमा महिलाहरूको प्रभाव बढ्दो छ।

यसैको एउटा बलियो उदाहरण बनेको मकवानपुरको हेटौँडामा अवस्थित उच्च अदालत पाटनको अस्थायी इजलास, हेटौँडा। यो इजलास यतिबेला महिला न्यायाधीशहरूले धानेका छन्। अर्थात्, यहाँका सबै ६ जना न्यायाधीश नै महिला छन्।

न्यायाधीशहरू यमुना भट्टराई, शान्ता सेढाईं सापकोटा, शकुन्तला घिमिरे, मीना गौतम सेढाईं, निर्मला पौडेल र सानुमाया डंगोल अहिले हेटौँडा इजलासमा कार्यरत छन्।

उच्च अदालत पाटनले सुरुमा हेटौँडा इजलासमा न्यायाधीश यमुना भट्टराईलाई खटाएको थियो। त्यसपश्चात् टिम बलियो बनाउन बाँकी ५ जना न्यायाधीश पनि महिला नै खटाएर पठाएको रजिस्ट्रार रामु शर्माले बताए। 

उनका अनुसार टिम बलियो भएपछि न्यासम्पादन पनि बलियो हुने निष्कर्षसहित महिला न्यायाधीशको टिम यस इजलासमा खटाइएको हो। 

महिला भएकै कारण न्याय सम्पादनमा ढिलाइ वा अन्य समस्या भएको भन्ने गुनासो सुन्नु नपरेको बरू न्याय सम्पादनमा अगाडि रहेको उनले बताए। 

‘महिला न्यायाधीश मात्र भएको यस इजलासमा न्यायसम्पादनका क्षेत्रमा हामी निकै अगाडि छौँ,’ रजिस्ट्रार शर्माले भने, ‘कुन इजलासमा कोे न्यायाधीश खटाउने भन्ने माथिकै निर्णयमा भर पर्छ। यहाँको लागि श्रीमानज्यूहरू खटाइएको दुई वर्ष भयो। न्याय सम्पादन रफ्तारमा अघि बढेको छ। इजलासमा पेस भएका मुद्दाहरूको न्याय सम्पादन छिटोछरितो तवरबाट भएको प्रतिक्रिया पाएका छौँ। न्याय सम्पादनका क्षेत्रमा महिला र पुरुष भन्ने कुराले अर्थ राख्दैन।’

इजलासमा आउने मुद्दाहरूलाई यी ६ जना न्यायमूर्तिहरूले मसिनो ढंगले केलाएर पीडित पक्षलाई न्याय दिलाउँदै आएका छन्। न्याय सम्पादन अझ निष्पक्ष र गम्भीरतापूर्वक हुने गरेको मकवानपुरका कानुन व्यवसायीहरू बताउँछन्। सामान्यदेखि गम्भीर प्रकृतिको मुद्दाहरूमा निष्पक्षता कायम हुँदै आएको सरोकारवालाहरूको भनाइ छ।

इजलासका न्यायाधीशहरू मात्रै होइन, अदालतका अन्य कर्मचारीहरूमा पनि महिलाको संख्या आधाभन्दा बढी छ। 

नेपालमा ७ वटा उच्च अदालत छन्। जसमा अस्थायीसमेत गरी १८ वटा इजलास छन्। उच्च अदालत पाटनको हेटौँडा इजलास मात्रै यस्तो इजलास हो, जहाँ सबै न्यायाधीशसहित महिला कर्मचारीहरू मात्रै ३० जना छन्। ६ जना न्यायाधीश सहित ५३ जना कर्मचारी रहेको यहाँ पुरुषको संख्या २३ जना छ।

महिलाहरूको टिमवर्क र कामको रफ्तार रहरलाग्दो भएको कानुन व्यवसायीहरूको ठम्याइ छ। न्यायमा महिलाको उपस्थिति हुनु केवल संख्यात्मक विषय होइन, संवेदनशीलता, सन्तुलन र न्यायप्रतिको दृष्टिकोणमा फरक ल्याउने कारक पनि हो। पीडित, विशेषतः लैङ्गिक हिंसा, घरेलु हिंसा वा पारिवारिक मुद्दामा संलग्न महिलालाई महिला न्यायाधीशको उपस्थिति बढी सहज र सुरक्षित लाग्ने कानुन व्यवसायीहरू बताउँछन्। 

यस अदालतमा गत आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका मुद्दामध्ये ३७४ वटा उजुरी बाँकी थिए। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिमा १ हजार २१५ उजुरी दर्ता भएका छन्। यी दुई आर्थिक वर्षको गरी १ हजार ५८९ उजुरी रहेकोमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका सबै मुद्दाहरूको फैसला सकिएको उच्च अदालत हेटौँडा पाटन इजलासका उपरजिस्ट्रार तथा सूचना अधिकारी केशरनाथ अर्यालले बताए। 

उनका अनुसार हालसम्मका अवधिमा १ हजार १०४ मुद्दाको फैसला सकिइसकेको अवस्था छ भने ४८४ वटा मुद्दा फैसला हुने क्रममा रहेका छन्। 

ती मुद्दाहरूको फैसला यसै आर्थिक वर्षमा सकिने गरी अन्तिम चरणमा रहेको सूचना अधिकारी अर्यालले जानकारी दिए। अदालतमा उजुरी दर्ता भएको वर्ष दिनभित्रै फैसला गर्नेगरी न्याय सम्पादन भइरहेको उदारहणले पनि महिलाले धानेको इजलासको न्यायसम्पादन चुस्त, दुरुस्त र छिटो छरितो छ भन्ने प्रस्ट पार्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad