समाज


पत्रकारमाथिको दुर्व्यवहारप्रति महासंघको आपत्ति, दोषीमाथि कारबाहीको माग

पत्रकारमाथिको दुर्व्यवहारप्रति महासंघको आपत्ति, दोषीमाथि कारबाहीको माग

नेपालखबर
असार ७, २०८२ शनिबार १५:३१, काठमाडौँ

नेपाल पत्रकार महासंघले देशका विभिन्न जिल्लामा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार, समाचार संकलनमा रोक र सामाजिक सञ्जालमार्फत धम्की दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

महासंघको गुल्मी शाखाका अनुसार बी टेलिभिजन तथा रेडियो नेपालका पत्रकार सूर्य सुनारमाथि असार ५ गते भिडियो खिच्ने क्रममा मुसिकोट नगरपालिका वडा नं. १, २ र ३ का जनप्रतिनिधिहरू-आनन्द श्रेष्ठ, रविन्द्र केसी र थम्मनबहादुर जिसीले दुर्व्यवहार गरेका थिए। त्यस्तै, प्रहरी हवल्दार अशोक धवलसहित नगर प्रहरीहरूले पत्रकार सुनारलाई खिचिएको भिडियो हटाउन दबाब दिएका थिए।

यस्तै, मकवानपुरमा पनि सोही दिन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाएको महासंघको मकवानपुर शाखाले जनाएको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकार भावना रिजाल, गणेश दुलाल र मनिल महतोलाई रोकेको थियो।

त्यसैगरी, तनहुँमा असार ३ गते प्रेस अनलाइनका कार्यकारी सम्पादक तथा महासंघका कार्यसमिति सदस्य विकास खनाललाई ऋषिङ गाउँपालिकाबाट समाचार संकलन गरेर फर्कने क्रममा स्थानीय विवेक श्रेष्ठले सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए। उक्त धम्कीमा अमर्यादित र अपशब्द प्रयोग गरिएको शाखाले जनाएको छ।

महासंघले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने यस्ता हर्कतलाई अत्यन्त निन्दनीय भन्दै सबै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। साथै, सञ्चारकर्मीहरूलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्न सक्ने वातावरण निर्माणका लागि तुरुन्त कदम चाल्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

यस्ता गतिविधिहरूको पुनरावृत्ति हुन नदिन आवश्यक कानुनी र प्रशासनिक व्यवस्था मिलाउन पनि महासंघले जोड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad